कोहलपुरको गोर्खा स्कुलमा बनाइयो सामुदायिक जीन बैंक

हिमाल प्रेस १५ पुष २०८० २१:३२
14
SHARES
कोहलपुरको गोर्खा स्कुलमा बनाइयो सामुदायिक जीन बैंक

बाँके- बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ। गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा. मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ। घार विभिन्न प्रजातिका मौरी र भमराको बासस्थान हुनेछ।

सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।

नार्कका वैज्ञानिक डा. भट्टराईले बीउ, किट, डीएनएलगायत पाँच किसिमका जीन बैंकको स्थापनामा जोड दिँदै जीन बैंकको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताए। उहाँले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जीन बैंकको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव  दिए।

सामुदायिक जीन बैंक नेपाल, सञ्जालका संयोजक पुरमल बस्नेतले जीन बैंक संरक्षण नहुँदा मानवीय जीवन संकटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दिगो विकास हुन नसक्ने बताए। यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जीन बैंक स्थापना भएको छ।

संयोजक बस्नेतले सो जीन बैंकलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताए। २०७८ मा पहिलो पटक सरकारले बाँकेमा ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ। रासस

प्रकाशित: १५ पुष २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =