एक करोड २५ लाख रुपैँया घूस लिने कुश्मा नगरपालिकाका अधिकृत पक्राउ

हिमाल प्रेस ११ पुष २०८० १४:५५
88
SHARES
एक करोड २५ लाख रुपैँया घूस लिने कुश्मा नगरपालिकाका अधिकृत पक्राउ

पोखरा- सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। उनलाई पर्वत प्रहरीले बुधबार दिउँसो उनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला अदालतबाट पक्राउका लागि उनलाई यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेकोमा उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमलाल भुसालले पराजुलीलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको जनाए। पक्राउपछि उनलाई जिल्ला अस्पतालको मेडिकल लगी पोखरा पठाउने तयारी भइरहेको छ।

पोखरामा सहकारीको रजिष्ट्रार हुँदा उनले मोटो रकम घूस लिएको आरोप छ। पोखराकै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा यसअघि नै पक्राउ परेका प्रतिवादीहरुले पोखरामा तत्कालीन रजिष्ट्रार पराजुलीलाई करोडभन्दा बढी रकम घूस दिएको बयानका आधारमा पक्राउ पूर्जी काटिएको थियो। आफूलाई पक्राउ पुर्जी काटिएपछि उनी लोक सेवाको परीक्षा भन्दै बिदा बसेका थिए।

यसैबीच, मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड बिगो असुल गर्ने तयारी भएको छ। सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ।

लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरिएको हो। उक्त रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ। विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो।

यसअघि सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार एवं सेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल पक्राउ परे पनि अन्यलाई प्रहरीले अझसम्म पक्राउ गर्न सकेको छैन।

मित्रमिलन सहकारी ठगी प्रकरण : ३२ जनाविरुद्ध करिब ३२ करोड बिगो दाबी

प्रकाशित: ११ पुष २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =