उधौलीले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्छ : राष्ट्रपति

हिमाल प्रेस १० पुष २०८० ७:२०
2
SHARE
उधौलीले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्।

राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,’ राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

प्रकाशित: १० पुष २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =