
काठमाडौँ- मोरङ घर बताउने ३३ वर्षकी ‘महिला एक’ (नाम परिवर्तन) वैदेशिक रोजगारीमा युरोप जाने सपना बोकेर दुई वर्षअघि भारत पुगिन्। उनलाई भारतीय रोजगार दलालले दिल्ली हुँदै माल्दिभ्स पठायो। त्यहाँ उनी घरेलु श्रमिकका रूपमा काम गर्न थालिन्।
दुई वर्षअघि माल्दिभ्स पुगेकी उनी मालिकबाटै शारीरिक शोषणमा परिन्। ती महिला मालिकबाट मात्र होइन, मालिककै आफन्तबाट समेत बलात्कारको सिकार बनिन्।
दुई साताअघि ६ महिनाको गर्भ बोकेर नेपाल फर्किएकी ‘महिला एक’ बिच्चलीमा परेकी छन्। गर्भ बोकेर आएका कारण आफ्नो घरसमेत फर्किन नसकेको बताउँछिन्। उनका पति वैदेशिक रोजगारीका लागि कतारमा छन्। काठमाडौँको एउटा महिला पुनर्स्थापना केन्द्रको आश्रयमा रहेकी ‘महिला एक’ भन्छिन्, ‘गर्भ बोकेको थाहा पाएपछि मालिकले नेपालमै गएर उपचार गर् भनेर पठायो। पेटमा बच्चा छ भन्दा पनि मालिकले बस्न दिएन। माल्दिभ्समा गर्भ फाल्न समस्या हुँदो रहेछ।’
मालिकले कानुनी समस्या पर्छ भनेर नेपाल पठाएको उनी बताउँछिन्। पतिसँग सल्लाह गरेरै माल्टा जाने भनेर घरबाट हिँडेको उनले बताइन्। ‘श्रीमान्कै सल्लाहमा वैदेशिक रोजगारीमा गएकी थिएँ। एक वर्षदेखि उहाँसँग सम्पर्क छैन। अब कसरी फोन गरेर यस्तो छु भन्नु?’ उनले भनिन्।
जसोतसो माल्दिभ्सबाट फर्किए पनि ‘मर्नु कि बाँच्नु’ को अवस्थामा रहेको उनले बताइन्। उनका अनुसार घर फर्कँदा मालिकले दुई वर्षको तलबबापत ७ लाख रुपैयाँ र घर फर्किने बेलामा १० लाख रुपैयाँ दिएको थियो।
‘महिला एक’लाई मोरङकै विकास मोदीले भारत पुर्याएर एजेन्टको जिम्मा लगाएका थिए। अहिले मोदी उनको सम्पर्कमा छैनन्। ‘गर्भ लिएर स्वदेश त फर्किएँ। यो बच्चा जन्माएर कसरी हुर्काउनु भन्ने चिन्तामा छु। फेरि समाजमा बच्चालाई कसको सन्तान भनेर चिनाउनु? यो झन् ठूलो समस्या भयो’, ‘महिला एक’ले गुनासो गरिन्।
धादिङ घर बताउने २७ वर्षीया ‘महिला दुई’ (नाम परिवर्तन) कुवेतमा काम गर्न गएकी थिइन्। उनी कुवेतमा अवैध रूपमा बसेकी थिइन्। बढी पैसा कमाइ हुने लोभमा लहैलहैमा लागेर इरान पुगिन्। इरानमा दुई वर्ष घरेलु रोजगारीमा बन्दी जीवन बिताउन बाध्य भएको उनको गुनासो छ। ‘महिला दुई’ सात महिनाको गर्भ बोकेर एक महिनाअघि नेपाल फर्किएकी हुन्। साहुको गर्भ बसेपछि केही पैसा दिएर स्वदेश पठाएको उनको भनाइ छ।
उनी भन्छिन्, ‘इरानमा दुई जना पुरुष मात्र भएको घरमा काम गर्न पुगेँ। त्यहीँ घरमा काकाभतिज मिलेर दुई वर्षसम्म बलात्कार गरे। गर्भ बसेपछि नेपाल फर्काइदिए।’
वैदेशिक रोजगारीमा अरूको देशमा गएपछि जेजस्तो भए पनि सहेर काम गर्नुपर्ने बाध्यता भएको उनले बताइन्। ‘मेरो पेटमा गर्भ रहेपछि काकाभतिजले झगडा गरे। काकाले तेरो र भतिजले तेरो भनेर एकअर्कोमा आरोप लगाए। अन्तिममा दुवै मिलेर १५ लाख रुपैयाँ जति दिएर कुवेत हुँदै नेपाल पठाए’, ‘महिला दुई’ले भनिन्।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीमा जानुपरेको उनको गुनासो छ। अविवहित ‘महिला दुई’ परिवार र समाजको सम्पर्कमा जान सकेकी छैनन्। एक वर्षदेखि परिवारका सदस्यसँग सम्पर्क नभएको उनी बताउँछिन्। ‘पेटमा भएको बच्चा जन्माए पनि गाउँघर फर्किन सक्ने अवस्था हुँदैन्। अब बच्चा जन्माएर फेरि वैदेशिक रोजगारीमा जानुपर्ला। अब मर्छु भन्दा पनि पाइँदैन होला’, उनले भनिन्।
वैदेशिक रोजगारीका लागि पाँच वर्षअघि लेबनान पुगेकी सल्यानकी २९ वर्षकी ‘महिला तीन’ (नाम परिवर्तन) एक वर्ष बच्चा हुकाएर बसेकी छन्। गत वर्ष लेबनानबाट सात महिनाको गर्भ बोकेर फर्किएकी उनले महिला उद्धार केन्द्रको सहयोगमा बच्चा जन्माएकी हुन्।
‘महिला तीन’ लेबनानमा सरकारी वकिलको घरमा काम गर्थिन्। हातमा कागतजात नभएका कारण स्वदेश फर्किन नसक्दा बलात्कृत हुनुपरेको बताउँछिन्। उनी पनि भारत हुँदै लेबनान पुगेकी थिइन्।
भाषा नजान्दा धेरै वर्ष लेबनानमा बन्दीजस्तै बनेर काम गर्न बाध्य भएको उनले सुनाइन्। ‘लेबनान पुगेको तीन वर्षसम्म मालिककी श्रीमती घरमै थिइन्। त्यतिबेला सुरक्षित थिएँ। मालिक्नी युरोपतिर लागेपछि मालिकले शारीरिक शोषण गर्यो’, ‘महिला तीन’ ले भनिन्। मालिक्नीले थाहा पाउने डरका कारण मालिकले विभिन्न सेटिङमार्फत नेपाल पठाएको उनले जानकारी दिइन्। उनी पनि घर जान सकेकी छैनन्। परिवारलाई नेपाल आइपुगेको पनि जानकारी नगराएको उनको भनाइ छ।
गरिबीका कारण वैदेशिक रोजगारीमा जाँदा अहिले घरको न घाटको भएर बाँच्नुपरेको उनको गुनासो छ। ‘महिला तीन’ पाँच वर्षअघि पतिसँग सम्बन्धविच्छेद गरी वैदेशिक रोजगारीमा गएकी थिइन्। वैदेशिक रोजगारीबाट आउँदा गर्भ लिएर आउनेहरू स्वेच्छा, बाध्यता वा हिंसामा परेर गर्भवती हुने अवस्था आएको बताउँछन्। विदेशबाट गर्भ बोकेर फर्किएका अधिकांश महिला सामान्य लेखपढ मात्र गर्न जान्दछन्। उनीहरूलाई वैदेशिक रोजगारीका बारेमा त्यति ज्ञान नभएको उद्धारमा संलग्न अधिकारकर्मीहरू बताउँछन्। उनीहरूका अनुसार वैदेशिक रोजगारीबाट गर्भ बोकेर फर्केका महिलाले समाजमा पुनः स्थापित हुन निकै ठूलो समस्या हुने गरेको बताउने गरेका छन्।
पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ वार्षिक ४० देखि ५० जना महिला गर्भवती भएर नेपाल फर्कने गरेको बताउँछिन्। रोजगारदाता देशबाटै वार्षिक २५ देखि ३० जना महिला गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्ने गरेको उनको भनाइ छ। गुरुङले भनिन्, ‘सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगाएको छ। तर तस्करहरूले यसको फाइदा उठाइरहेका छन्। रोजगारदाता देशमा महिला कामदारमाथि भएको शारीरिक, आर्थिक र मानसिक शोषणबारे सरकारले आवाज उठाउन सकेको छैन।’
सरकारकै कारण रोजगारीका नाममा महिला बेचबिखनमा पर्ने गरेको उनको आरोप छ। सरकारले कानुनी रूपमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा संस्थागत रुपमा १ सय ७८ वटा देशमा खुला गरेको छ। जसमा संस्थागत १ सय १२ वटा देशमा नेपाली कामदार जाने गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे वैदेशिक रोजगारीमा गएका महिला कामदार गर्भ बोकेर आएको विषयमा आफूहरूलाई जानकारी नभएको बताउँछन्। रोजगारदाता देशसँग गरिएको श्रम सम्झौता र श्रम स्वीकृति लिएर गएका महिला कामदारमा त्यस्तो समस्या भए सम्बन्धित देशसँग कूटनीतिक तहमा छलफल हुने उनले बताए।
घिमिरेले भने, ‘अवैध बाटो भएर घरेलु रोजगारीमा गएको कतिपय महिला कामदार समस्या परेको सूचना पाएपछि सम्बन्धित देशका नियोगले उद्धार गर्दै आएको छ।’