काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्दो क्रममा रहेकोले चिसो अझै बढ्ने सम्भावना रहेको जनाएको छ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ।
काठमाडौँ उपत्यकामा बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेकोमा दिउँसो १७ देखि १९ डिग्री सेल्सियसम्म रहने मौसमविद् रोजन लामिछानेले बताए।
उनले वर्षाको सम्भावना भने नरहेको बताए। उनका अनुसार तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित: ६ पुष २०८० ६:३४
प्रतिक्रिया