‘रुसमा १४० बढी नेपाली घाइते, ५० जना जेलमा’

रमेश भारती ५ पुष २०८० २०:३३
140
SHARES
‘रुसमा १४० बढी नेपाली घाइते, ५० जना जेलमा’ रुसी सेना।

काठमाडौँ- रुसी सेनामा भर्ती भएका १ सय ४० जनाभन्दा बढी नेपाली घाइते भएको दाबी मस्कोमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका एक नेपालीले गरेका छन्। उनीहरू युक्रेनसँग भएको युद्धमा घाइते भएका ती नेपालीले बताए। राजधानी मस्कोमा रेस्टुरेन्ट चलाउँदै आएका एक नेपालीका अनुसार युक्रेनसँग भएको युद्धमा १ सय ४० जनाभन्दा बढी नेपाली घाइते भएका हुन्।

उनीहरूको रुसकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  घाइते नेपालीको अवस्था रुस सरकारले गोप्य राखेको ती नेपालीले जानकारी दिए।

रुसी सेनामा भर्ती भएका नेपालीबाटै यस्तो सूचना पाएको उनले बताए। ‘घाइते मात्र होइन, रुसी सेनामा भर्ती भएर भाग्ने क्रममा पक्राउ परेका ४५ देखि ५० जना नेपाली यहाँको सैनिक हिरासत छन्। उनीहरूलाई रुस सरकारले सार्वजनिक गरेको छैन’, ती नेपालीले भने।

रुसी सेनामा भर्ती हुन आवेदन दिएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्। उनीहरू त्यहाँ रहेका नेपालीको सहयोगमा स्वदेश फर्किन थालेको ती नेपालीको भनाइ छ।

उनका अनुसार रुसी सेनामा भर्ती भई भाग्न खोज्ने नेपालीलाई प्रहरीले समातेर सैनिकसमक्ष बुझाउने गरेका छन्। यसरी भाग्ने क्रममा बाटो थाहा नपाउँदा अथवा भगाउने दलालको फन्दामा पर्दा पक्राउ पर्ने गरेका हुन्।

नेपालबाट रुसी सेनामा भर्ती हुन पुगेका ३ देखि ५ सय जना नेपालीमा यहाँका विभिन्न सहरमा रहेको दाबी ती नेपालीको छ। उनीहरूले एजेन्ट, म्यानपावर, यूएई र भारत हुँदै आएको बताउने गरेका छन्। अहिले रुसमा धेरै चिसो र हुसु लागेका कारण नेपालीहरू चिसोका बिरामी पर्ने थालेका छन्।

रुसी सेनामा भर्ती हुन आएका कतिपय नेपाली अलपत्र अवस्थामा रहेको ती नेपालीले बताए। उनीहरू समस्यामा परेपछि मस्कोस्थित नेपाली दूतावास र नेपाली समुदायका सम्पर्कमा पुग्ने गरेका छन्। रुसी सेनामा भर्ती भई भागेका नेपालीले नै साथीहरू घाइते भएको सूचना दिने गरेको त्यहाँ रहेका नेपालीले बताएका छन्।

रुसी सेनामा भर्ती भएका नेपालीहरू सैनिक हिरासतमा रहेको र घाइते भएको विषयमा अहिलेसम्म औपचारिक जानकारी नआएको मस्कोस्थित नेपाली दूतावासले जानकारी दियो। दूतावासका अनुसार रुसी सेनामा भर्ती हुन धेरै नेपालीको सूचना छ। तर घाइते र जेलमा रहेको विषयमा जानकारी नभएको दूतावासले जनाएको छ।

रुसी सेनामा नेपाली भर्ती भइरहेको सूचना आए पनि सैनिक जेलमा रहेका र घाइते भएको विषयमा केही जानकारी नभएको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी संसद्‌मा गराएका थिए। मस्कोस्थित नेपाली दूतावासले एक हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौँस्थित रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर धारणा राख्दै आएका छन्। तर रुसी सरकारले त्यसमा ध्यान दिएको छैन भने सेनामा नेपाली भर्ती गराउने प्रक्रिया पनि रोकेको छैन।

रुसी सेनामा भर्ती भएका नेपाली युरोप र यूएईबाट त्यहाँ पुगेका हुन्। रुसी सेनामा नेपाली भर्ना भएको विषयलाई त्यहाँको राष्ट्रपति कार्यालयले अस्वीकार गरेको छ।

आठ जना नेपालीको मृत्यु

रुस-युक्रेन युद्धमा ८ जना नेपालीको मृत्यु भइसकेको छ। मस्कोस्थित नेपाली दूतावासले सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१, कपिलवस्तु), देवान राई (पोखरा), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६, दोलखा), गंगाराज मोक्तान (इलाम-५, इलाम), कैलालीको टीकापुरका भरत शाह र कुन्दन सिंह नागल मृत्यु भएको पुष्टि गरेको छ। उनीहरूको शव नेपाली ल्याउन दूतावासले रुस सरकारसँग मागसमेत गरिरहेको छ।

युक्रेनमा विवेक खत्री (बर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ) र प्रतीक पुन (रोल्पा) बन्दी अवस्थामा छन्। उनीहरूको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले युद्धमा मारिएकाको परिवारलाई क्षतिपूर्ति दिन, नेपालीलाई सेनामा भर्ती नगर्न र भर्ना गरेकालाई फिर्ता पठाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अन्य देश हुँदै रसिया जाने नेपालीहरू अनिवार्य एनओसी लिएर जान मात्र आग्रह गरेको छ।

प्रकाशित: ५ पुष २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =