धुलिखेल– काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ।
विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा तथा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले हस्ताक्षर गरे।
समदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदानप्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि गर्नेछन्। सम्झौता पाँच वर्षका लागि मान्य हुनेछ।
हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्सा क्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए।