
खाना, खाजाका लागि होस् वा साथीभाइसँग चियामा गफिन ठूला सहरदेखि ससाना बजारसम्म रेस्टुरेन्ट पुग्ने संस्कृति मौलाउँदो छ।
आममानिसको आवागमन बढेसँगै ठूला होटल, रिसोर्टदेखि ससाना रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ। होटल, रेस्टुरेन्ट खाना, खाजा खान, साथीभाइसँग गफिन, आराम गर्नदेखि कार्यक्रम, बिहे, भोजलगायतका गतिविधिमा उत्तिकै प्रयोग हुन थालेका छन्।
केही वर्षअघिसम्म ठूला सहरका भीडभाडयुक्त क्षेत्र र पर्यटकीय गतिविधि हुने क्षेत्रमा मात्रै होटल, रेस्टुरेन्ट खुल्थे। अहिले अवस्था फेरिएको छ। प्रविधिको प्रयोगमार्फत गरिने विज्ञापनले गर्दा सुनसान नगर र गाउँका साना बजारमा पनि होटल, रेस्टुरेन्टको संख्या बढ्दो छ। ‘इको टुरिजम’को नाराले गर्दा पनि गाउँगाउँमा होटल खुल्ने क्रम उत्तिकै मौलाएको छ। होमस्टेको कार्यक्रम त स्थानीय सरकारहरूले नै प्रवर्धन गरिरहेका छन्।
घुमघाम गर्ने संस्कारका कारण आन्तरिक पर्यटनले छलाङ मार्न थालेपछि होटल, रेस्टुरेन्टको संख्या सबैतिर बढेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी बताउँछन्। ‘सहरमा मात्रै होटल रेस्टुरेन्ट खुल्छन् भन्ने भाष्य फेरिइसक्यो,’ उनी भन्छन्, ‘आममानिस घुम्ने, बाहिर गएर खाने, कार्यक्रम गर्नेलगायत कारणले देशभर होटल, रेस्टुरेन्टको संख्या बढेको हो।’ पछिल्लो समय भीडभाडयुक्त सहरभन्दा सहर नजिकका सुनसान क्षेत्रमा खुलेका होटल तथा रेस्टुरेन्टमा ग्राहकको भीड बढी देखिन थालेको उनको भनाइ छ।
गिरीले भनेजस्तै नयाँनयाँ क्षेत्र होटल तथा रेस्टुरेन्टको हबका रूपमा देखिन थालेका छन्। जस्तो केही वर्षअघिसम्म काठमाडौँ उपत्यकाको ठमेल क्षेत्र रेस्टुरेन्टका लागि नामी मानिन्थ्यो। तर अहिले ठमेलको रेस्टुरेन्ट व्यवसाय, झम्सीखेल, भैँसेपाटी, बागमती करिडोर, मनोहरा, बौद्धलगायत क्षेत्रले खोस्न थालेको छ। पछिल्लो दुई तीन वर्षमै यी क्षेत्रमा बेग्रल्ती होटल तथा रेस्टुरेन्ट खुलेका छन्।
हिजोका दिनमा काठमाडौँबाहिर चितवन, बन्दीपुर, नगरकोट, पोखरा, धरान, धुलिखेलजस्ता क्षेत्रमा मात्रै पर्यटक लक्षित होटल खुलेका थिए। अहिले प्रत्येक ससाना बजारमा होटल तथा रेस्टुरेन्टको संख्या बढ्दो छ। जसले गर्दा यी क्षेत्रको जग्गाको भाउदेखि अन्य आर्थिक गतिविधिलाई होटल, रेस्टुरेन्टले उत्तिकै चलायमान बनाउन सघाएका छन्।
नयाँ क्षेत्रमा होटल व्यवसाय फस्टाउनुको कारण आममानिसले भीडभाडभन्दा सुनसान क्षेत्र, प्रशस्त पार्किङको सुविधा, खुला वातावरण रुचाउनु रहेको अध्यक्ष गिरीको भनाइ छ। ‘दैनन्दिन गतिविधि, व्यस्थ जीवनशैली र निसासिँदो सहरदेखि धेरै मान्छे आजित छन्,’ उनी भन्छन्, ‘जसले गर्दा केही क्षण भए पनि खुला हावामा रमाउने, खुसी हुने चाहानाले मानिसलाई नयाँ क्षेत्रमा खुलेका होटल, रेस्टुरेन्टले तान्न थालेका छन्।’ यही कारण पछिल्लो समय खोलाका किनारा, दूरदराजका गाउँ र नयाँ पर्यटकीय गन्तव्य पनि गुल्जार हुन थालेका छन्।
लोकप्रिय गाउँले नाम
होटल तथा रेस्टुरेन्टको संख्यासँगै मौलिकता झल्काउने आञ्चलिक नाम राख्ने चलन पनि बढेको छ। यसले व्यस्त सहरका ठूला घरमा जनजिब्रोमा सजिलै झुन्डिने नेपाली मौलिक नामका ठूला होर्डिङबोर्ड झुण्डिएका छन्। यही कारण देशभरका मुख्य सहर तथा व्यापारिक केन्द्रमा मौलिक नाम गरेका थुप्रै होटल तथा रेस्टुरेन्ट देखिन्छन्।
जस्तो- दाउरा, डोको, थाकखोला, ससुराली, चुलो, रातो भाले, ढिकी, नाङ्लो, सिलौटा, बाजेको सेकुवाजस्ता मौलिक नामले सहर ओगटेका छन्। बार्दली, सिन्का, डल्ले, हाँडी, कटिया, कसौडी, अँगेनो, भेटघाट, पेरुंगो, छानोजस्तो मौलिक नामका होटल तथा रेस्टुरेन्टको संख्या उत्तिकै छ।