‘झापा विद्रोह’ निर्वाचन बेलाका र राजनीतिक दलका गतिविधिमा सुनिँदै आएको शब्दावली हो। नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएको झापा व्रिदोहले धेरै नेता जन्मायो। पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि झापा विद्रोहबाटै उदाएका नेता हुन्।
झापा विद्रोहको उत्पत्ति र परिणामबारे भने पछिल्लो पुस्ता अनभिज्ञ छ, जसरी २०६० पछि जन्मिएको पुस्तालाई माओवादीको द्वन्द्वबारे जानकारी छैन। अब झापा विद्रोहका सबै पक्ष पुस्तकमा पढ्न पाइने भएको छ। मोहनचन्द्र अधिकारीको नेतृत्वमा २०२८ सालदेखि २०३२ सालसम्म झापामा भएको विद्रोहको इतिवृत्त समेटेर पुस्तक लेखेका हुन् निराज कट्टेल। पुस्तकको नाम हो, ‘झापा विद्रोहको अन्तर्कथा’।
पुस्तकमा चार वर्षमा झापामा भएका विद्रोह, राज्य पक्ष र सर्वसाधारणबीच भएको द्वन्द्व र कम्युनिस्ट आन्दोलनको चर्चा छ। झापा विद्रोह नभएको भए यसबेलासम्म पनि ‘कम्युनिस्टहरू सत्तामा पुग्दैनथे भन्ने निचोड लेखकको छ।
लामो अध्ययन, गहन खोज र विभिन्न अन्तर्वार्तापछि उक्त पुस्तक तयार पारएको हो। पुस्तक लेखनको चाहना मात्रै भएर हुँदैन दीर्घसाधना पनि चाहिन्छ भन्ने सन्देश पुस्तक पढेपछि प्राप्त हुन्छ।
पुस्तकमा झापा विद्रोहसँगै त्यसबेला पहाडबाट झापा आएकाहरू कथा, देशको वृत्तान्त र किन विद्रोह भयो भन्ने प्रश्नको उत्तर दिएको छ। थुप्रै सामग्रीको अध्ययन र दुई दर्जन बढी मानिससँग अन्तर्वार्ता गरी लेखिएकाले उक्त पुस्तकमा त्यसबेलाको घटनाक्रम विवरणात्मक रूपमा समेटिएको छ।
व्रिदोहमा आठजना मानिस मारिएका थिए। कोही राज्यबाट तत्कालै सहिद भएका छन् भने कोहीलाई निकै लामो समयपछि मात्रै राज्यले सहिद घोषणा गरेको थियो।
पुस्तकमा सर्वहारा, किसान र जमिनदारबीच भएको अन्तर्विरोध, नक्सलवादी–झापाली सम्बन्ध, झापा आन्दोलनमा सहयोग गर्न भारतबाट आएकाहरूको कथा, पञ्चायती सत्ताको नीति, भूमिसुधारपछि झापा जिल्लाको भुइँयथार्थ, पहाडबाट झापामा बसाइँ सराइ आएकाहरूको कथासँगै कम्युनिस्ट आन्दोलनको चित्रण गरिएको छ।
झापा आन्दोलनका अनाहकमैै मारिएका पीडितहरूको कुरा पुस्तकमा उल्लेख छ। आन्दोलनमा मारिएका कर्णबहादुर गौतमकी छोरी कुन्तीको भनाइ उधृत गर्दै लेखकले लेखेका छन्, ‘बुबाको मृत्युपछि सानो भाइलाई लिएर गएर काकाले अंश मुद्दा हालेर सबै जग्गाजमिन आफ्नो नाममा पार्नुभयो। त्यसपछि हाम्रो गोठालाको जीवन सुरु भयो। बुबाको मृत्युपछि बेपत्ता भएको भाइ तिलक अहिलेसम्म फेला परेको छैन।’
पीडित कुन्तीले आफ्ना बुबा डाँकाबाट मारिएको बुझे पनि पछि राजनीतिक कारणबाट मारिएको उल्लेख गरेकी छन्। ०४६ सालपछि राजनीतिक पीडितका नाममा सबैले पैसा पाउँदा आफूहरूले पैसा र न्याय दुवै नपाएको उनको गुनासो छ।
‘बहुदल आएपछि गरिब–दुःखीको पार्टी भनेर हाम्रो परिवार एमालेमा लाग्यो। एक सालको फागुन २१ गते गाउँका सबैले सुखानी जाऔँ भने। पार्टीको गाडी चढेर सुखानी पुग्यौँ। त्यहाँ पुगेपछि हाम्रो बुबालाई मार्नेहरूको सम्झनामा कार्यक्रम भएको थाहाँ पाएँ,’ कुन्तीले लेखकसँग भनेकी छन्, ‘एक जनाले हाम्रो बुबालाई सामन्त भनेको सुन्दा रिंगटा छुट्यो। त्यो कार्यक्रमबाट फर्केपछि एमाले भन्ने पार्टी नै छाडिदिएँ। मारिने मेरो बुबा सामन्त रे। अनि मेरो बुबालाई मार्ने चैँ सहिद रे। कति अमिल्दो कुरा?’
पुस्तकमा एमालेका अध्यक्ष ओलीको प्रसंग पटकपटक जोडिएको छ। ओली त्यसबेला पक्राउ नपरेका भए अहिले उनी यो नेतृत्व तहसम्म आइपुग्दैनथे।
झापा आन्दोलनका संस्थापक सचिव राधाकृष्ण मैनाली अस्वस्थ भएपछि जिल्ला कमिटिको सचिवमा खड्गप्रसाद (केपी) ओलीलाई ल्याइयो। अधिवेशन नगरी बैठकबाटै उक्त जिम्मेवारी दिइएको थियो। सचिवको जिम्मेवारी प्राप्त गरे पनि ओली केही महिनामात्रै झापामा टिकेका थिए।
‘ओली खासै काम गर्दैनथे। कुरा मात्रै बढी गर्थे। एउटाको सानो विषयलाई लिएर अर्कोलाई प्रहार गर्ने उनको बानी थियो। कुरा मात्र गर्छन्, काम गर्दैनन् भन्ने भएपछि चन्द्रप्रकाश मैनालीलाई प्रभावमा पारेर हर्क खड्काले एकाएक बैठकमा ओलीलाई सचिव बनाउने प्रस्ताव लिएर आए। मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, शिवप्रसाद शिवाकोटी र मैले उनलाई सचिव बनाउने विषयमा असहमति राखेका थियौँ,’ लेखकसँग नरेश खरेलले भनेका छन्, ‘हात उठाएर मतदानजस्तै भएको थियो। तेह्र सदस्यीय जिल्ला कमिटीमा चारजनाबाहेक अरूले ओलीलाई नै सचिव बनाउने भनेर हात उठाएका थिए। तर सचिव भएपछि उनी निष्क्रिय बसे। मिटिङ राख्नु त परको कुरा, सुरक्षित सेल्टरमा बसेर जिल्ला तहका नेताहरूसँग सम्पर्कसमेत गरेनन्।’
झापा विद्रोहका क्रममा जति ‘एक्सन’ भए ती सबै हतारमा गरिएको पुस्तकमा उल्लेख छ। अध्ययन, छलफल वा कुनै विश्लेषणमा नभई हतारमा निर्णय थियो। यस क्रममा २०२८ जेठ २ देखि २०३० सालसम्मा आठजनाको हत्या भएको थियो। जसमा दुईजनामाथि हत्याको असफल प्रयास र एकजनामाथि ‘एक्सन’ गर्ने निर्णय फिर्ता भएको पुस्तकमा उल्लेख छ।
झापा विद्रोहका क्रममा कर्णबहादुर गौतम, बुटन चौधरी, विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुडाल, उद्रकान्त राजवंशी, धर्मप्रसाद ढकाल, ज्ञानी ढकाल र ज्ञानबहादुर बस्नेतको हत्या भएको थियो।
झापा आन्दोलन आफैँमा व्यक्ति हत्यामा आधारित थियो। निःसस्त्र र सामान्य मानिसको ज्यान लिएका कारण यसले आतंक सिर्जना गरेको थियो। त्यसबेला राज्य र स्थानीय भूमिपति तथा प्रशासकहरूका कारण जमिनको अधिकार पाउनबाट वञ्चित भएको परिवारमा आशाको सञ्चार पनि गरेको थियो। व्यक्ति हत्याका कारण क्रान्तिकारीप्रति नैतिक प्रश्न उठाएको पुस्तकमा उल्लेख छ।
झापा विद्रोहमा उत्पीडित समुदायको साथ रहेको कुरा पनि पुस्तकमा उल्लेख छ। त्यसबेला सीता खड्कालगायतका महिला घर छाडेर हिँड्नुले पनि महिला सशक्तीकरणको हिसाबमा अब्बल मानिन्छ। पुस्तकमा उत्पीडित समुदायमाथि सामन्तहरूले विभेद गरेको कुरासमेत उधृत छ।
पुस्तकमा लेखकले रुसी कथाकार लियो टोल्सटोयको कथा ‘हाउ मच ल्यान्ड डज ए म्यान निड’ कथा को मुख्य पात्र पाहोमको सन्दर्भ पनि जोडेका छन्। जहाँ एक दिनमा जति जमिन हिँड्न सकिन्छ त्यो सबै उसकै हुने मुखियाले बताएका छन्। जति हिँडे पनि अन्त्यमा ‘शिरदेखि पाउसम्म गरेर जम्माजम्मी छ फिट अर्थात् चिहानको कुल लम्बाइ’ बताइन्छ।
जमिन नहुनेको समाजमा कुनै हैसियत नहुने पीडाको कथा पनि उल्लेख छ। पुस्तकअनुसार त्यसो त जसरी पनि परिवर्तनको मार्ग भनेको राजनीति हो। ‘छुवाछुत र गरिबीको कारण भनेको राजनीति हो, परिवर्तन गर्न राजनीतिमा लाग्नुपर्छ’, लेखकले चन्द्रवीरसँगको कुरालाई उल्लेख गर्दै राजनीति परिवर्तनको मार्ग रहेको बताएका छन्।
झापा विद्रोहमा होमिएकाहरूबीच कहिलेकाहीँ व्यक्ति हत्या गर्न हुने र नहुने भन्नेबारे बहस हुँदा व्यक्तिहत्या गर्न नहुने भन्ने कुराले कुनै भाउ नपाउने पनि पुस्तकमा उल्लेख छ।
आन्दोलनका पीडित रामनारायण सुखको खोजीमा हुन्छन्। उनको सुखको खोजी एकदमै सरल थियो। ‘सुखको परिभाषा एकदमै सरल थियो,’ पुस्तकमा भनिएको छ, ‘दुई छाक अघाउन्जेल खान पाउनु।’
पुस्तक एउटा दस्तावेज हो। एउटा इतिहासको समग्र तथ्यपरक कुरा पुस्तकमा उल्लेख छ। पुस्तकले हत्या कुनै क्रान्ति होइन भन्ने कुराको सन्देश दिएको छ। पुस्तक गैरआख्यान भए पनि कुनै सुन्दर साहित्य झैँ लाग्छ। मन छुने गरी लेखिएका लाइनहरूले पाठकको ध्यान खिच्छ।
अन्त्यमा, लेखकले महत्त्वपूर्ण पुस्तक, विभिन्न घटनाक्रमको खोज र झापा विद्रोहमा होमिएका, पीडित र त्यसबेलाको कुरालाई जोडेर पुस्तक लेखे पनि उनीहरूका भनाइ जस्ताको तस्तै धेरै ठाउँ उल्लेख गर्दा कताकता लेखकको आफ्नै ‘फ्लेबर’ नआएको हो कि? लेखकले पटकपटक कृष्ण धरावासीसहित त्यहाँ उल्लिखित पात्रहरूको भनाइ जस्ताको तस्तै उल्लेख गरेका छन्। त्यस कुरालाई उनले आफ्नै किसिमबाट उतारेको भए थप राम्रो हुने महसुस गर्न सकिन्छ।
झापा विद्रोहबारे लेखिएको यो पुस्तक इतिहास हो वा भनौँ एउटा दस्तावेज हो। झापा व्रिदोहबारे जान्न चाहेका, पढ्न इच्छुक भएका वा झापा विद्रोहबारे ‘थेसिस’ लेख्नका लागि पनि यो पुस्तक उदाहरणीय बन्न सक्छ। बेला पब्लिकेसनले प्रकाशन गरेको उक्त पुस्तक गत भदौबाट बजारमा आएको हो।
पुस्तक : २०२८, झापा विद्रोहको अन्तर्कथा
लेखक : निरोज कट्टेल
पेज : २९०
मूल्य : ६८९
प्रकाशक : बेला पब्लिकेसन