धनगढी स्थायी घर भएका केशव जोशी अस्ट्रेलियामा बस्छन्। उनी नेपालका बारेमा चिन्ता गर्ने गैरआवासीय नेपालीमध्येका एक हुन्। धनगढीमा विद्यालय शिक्षा पूरा गरेर उच्चशिक्षाका लागि काठमाडौँ हानिएपछि उनले केही समय यतै संघर्ष गरे। धनसम्पत्ति र सुखदुःख बुझे। व्यवस्थापनमा स्नातकोत्तर गरे। एभरेस्ट बैँकमा राम्रै पदमा रहेर काम गरे पनि त्यसमा रमाउन सकेनन्। भारतीय नेपाली भाषी युवतीसँग विवाह गरेपछि उनको रोजाइ अस्ट्रेलिया बन्यो। उनी यति बेला नेपाली व्यवसायीका रूपमा परिचित छन्। जोशी अस्ट्रेलियामा रहेका नेपालीको संस्था प्रवासी नेपाली मञ्चका अध्यक्ष हुन्। त्यहाँ उनी नेपालीलाई परेको समस्या समाधानका लागि पहल जारी राख्छन्। नेपालबाट गएका नेताहरूसँग सम्पर्क गर्नेलगायतका काममा पनि सक्रिय रहन्छन्। काठमाडौँमा आएका बेला जोशीसँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :
अध्ययनका लागि नेपाली युवाको रोजाइ विदेश हुने गरेको छ। तपाईँले अस्ट्रेलियामा रहेर कसरी हेर्नुभएको छ?
नेपालबाट विदेशमा अध्ययन गर्न जाने चलन नयाँ होइन। यसको इतिहास पुरानो छ। हाम्रा पुर्खा पहिला पनि विदेश जान्थे। तर उनीहरूको पहुँच दरबारसम्म हुनुपर्ने थियो। दरबारले नचाहेमा जान पाउने अवस्था थिएन। अहिले सजिलै विदेश जान पाइएको छ। पहिला र अहिले विदेश जाने युवाको उद्देश्य फरक छ। पहिला नेपाली भारतमा साक्षर हुन र संस्कृत पढ्न जान्थे। अहिले विषयवस्तुमा दखल राख्ने गरी बाहिर गएका हुन्छन्।
नेपालमा भन्दा बाहिर राम्रो अवसर पाइन्छ भनेर युवा विदेश गएका हुन्। युवाहरू नेपालमा भविष्य देख्दैनन्। साथीहरू गएको देख्छन्। उनीहरूले प्रगति गरेको हुन्छन्। अनि नेपाल बस्न चाहँदैनन्।
कोही युवा प्रतिष्ठित विश्वविद्यालयबाट शिक्षा लिने हिसाबले पनि गएका हुन्छन्। नेपाल युवा पहिला अमेरिका जान कोसिस गर्छन्। त्यता नमिलेपछि अस्ट्रेलिया र क्यानडा बाँडिएर आवेदन दिन्छन्। अस्ट्रेलियामा अध्ययन गरेपछि त्यहीँ पनि अवसर छ। तर त्यही काममा अमेरिकामा बढी प्रतिस्पर्धा हुने भएकाले अमेरिका गएकाहरू पनि अस्ट्रेलिया जाने गरेका छन्।
अध्ययन गर्न भनेर बाहिर जाने अनि उतै बस्ने अवस्था कसरी आयो?
माओवादी द्वन्द्व चर्किन थालेपछि बाहिर जाने र उतै बस्ने क्रम बढेको हो। द्वन्द्वकालमा परिवारमा युवा देखिएपछि लगिहाल्ने र सेनाले पाए आतंककारी भनेर थुन्ने गर्दथ्यो। दोहोरो मारमा परेपछि युवा देशमा बस्न सकेनन्।
परिवारले पनि बाहिर गए सुरक्षित हुन्थ्यो भन्ने अवस्था थियो। त्यसपछि विदेश जाने प्रवृत्ति बढ्न थाल्यो। अहिले त विदेश नजाने घरै छैन। विदेश कोही गएको छैन भने त्यसलाई कमजोर भन्न थालियो। विदेश गएका युवा प्रायः फर्कँदैनन्। जता जाने उतै ‘सेटल’ हुने गरेका छन्। पछिल्लो २० वर्षमा धेरै परिवर्तन भएको छ। अवसर नपाएर हो कि भन्ने पनि छ। समृद्ध मुुलुकका युवा पनि बाहिर जान्छन्। हरेक मानिस देश बनाउन भनेर लाग्दैन। मानिस पहिला आफू र आफ्नो परिवार कसरी राम्रो बनाउने भनेर लाग्छ। अनिमात्र आफ्नो मुलुकका बारेमा सोच्छ। युवाले अवसरका लागि देश छोड्ने गरेका हुन्। मुलुकमा राम्रो अवस्था भयो र चाहेजस्तो आम्दानी गर्न पाएमा युवा फर्कन्छन्।
फर्कनै नचाहनुका कारणचाहिँ केके हुन्?
हरेक युवा विदेश जाँदा फर्कन्छु भन्छ। कोही आफ्नो आर्थिक अवस्था परिवर्तन गरेर फर्कन चाहन्छ। एक्लै विदेश गएको मानिसले उतै विवाह गर्छ। अनि बच्चाको भविष्य देख्न थाल्छ। बच्चा ठूलो भएपछि फर्कन्छु भन्ने योजना बनाउँछ। यति गर्दागर्दै ५०/५५ वर्ष उमेरको हुन्छ। आफ्ना साथीभाइ कताकता पुगेका हुन्छन्। जिउने तरिका फरक भइसकेको हुन्छ।
समृद्ध मुलुकमा बसेकाहरूले सरकारलाई कर तिरेका हुन्छन्। सोहीअनुसार बुढेसकालमा राज्यले सुविधा दिन्छ। अनि त्यसैमा लोभिन्छ। दोस्रो र तेस्रो पुस्ताको त झन् फर्कने सम्भावना हुँदैन। नयाँ पुस्ता त्यहाँको जनजीवन र संस्कृतिमा अभ्यस्त भइसक्छ। युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया पुगेका अधिकांश नेपाली फर्कँदैनन्। अपवादमा एकदुई जना फर्किएलान्। खाडी मुलुकमा केही समय काम गर्न गएका मात्रै फर्कन्छन्। उनीहरू पनि आफ्ना सन्ततिलाई युरोप-अमेरिका पठाउन रुचाउँछन्। पहाडबाट तराई झरेको मानिस को पहाड फर्केको छ र? त्यस्तै हो अहिलेको विश्वव्यापीकरणमा। म सुदूरपश्चिमबाट काठमाडौँ आएँ। गाउँ फर्किन सकिनँ बरु विदेश लागेँ। बसाइँ सराइको ‘ट्रेन्ड’ हो यो। अर्को कुरा नेपालमा एयरपोर्टमा झर्दादेखि नै पीडा सुरु हुन्छ।
नेपालीले एउटादुइटा मोबाइल ल्याउँदा यहाँका व्यापारीलाई पोसाउन कर तिर्नुपर्छ। अन्यत्र यस्तो हुँदैन। बाहिरबाट आउनेले दुईचार पिस फोन गिफ्ट पनि ल्याउन सक्छ। यस्तोमा पनि सरकारले दलाली गरेर नागरिकलाई निचोरिरहेको छ। माफियासँग मिलेर सरकारले फोन ल्याउन नपाउने बनाएको स्पष्टै छ। नागरिक विरोधमा उत्रिँदैनन्, प्रतिपक्षमा बस्नेले आवाज उठाउँदैन।
दलका नेता ठूला डन भए अहिले। गुण्डागर्दी गर्ने अनि बाहिर शालीन देखिने फिल्मको दृश्य नेपालमा त लाइभ हेर्न सकिन्छ। नेताले बिहान बोलेको कुरा बेलुका होइन भनेर दिउँसै रात पारिदिन्छन्। लाजै पचाएर रकम लिन्छन्। त्यो रकम बाहिर लगेर उठाउन नसकेको खबर पनि आउँछ।
खाडी मुलुकमा काम गरेका साथीहरू फर्कँदा एयरपोर्टमा गर्ने व्यवहार, उनीहरूले ल्याएको सामानमा लगाएको आँखा देख्दा त्यहीँबाट विदेश फर्कन मन लाग्छ। साँच्चै यहाँको कर्मचारी र नेतालाई कसैले केही नगरेर छाडा छोड्दा यस्तो अवस्था भएको हो। दिनरात पसिना बगाएर कमाएको रकम यस्ता फटाहालाई खुवाउन किन आउने भन्ने लाग्छ। एउटा हुल सरकारी निकायमा घुसेर सबैलाई कारबाही गर्ने दिन आउने देख्छु म त।
एकोहोरो बसाइँ सराइले त समस्या होला नि?
पक्कै। एकोहोरो बसाइँ सराइ राम्रो होइन। हामीले विदेशमा जानेलाई फर्काउने भन्दा पनि यहाँ लगानी भित्र्याउने वातावरण बनाउने, राम्रा विश्वविद्यालयको परिकल्पना गर्ने हो। विश्वविद्यालयले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने हो भने जाने र फर्कने हुन्छ। सबैको ध्यान आफ्नै पेट भरौँ भन्नेमा छ। यहाँ बस्नेले पनि मुलुकको विकासमा ध्यान दिने, उद्योगधन्दा चलाउने, विदेशमा रहेकालाई फर्कौँ-फर्कौँ लाग्ने बनाउने हो नि। भुटानीहरू विदेशमा भन्दा आफ्नै मुलुकमा रमाउन चाहन्छन्। त्यो हामीले दिने शिक्षा र सुविधामा भर पर्छ। विदेशमा गएपछि सबैथोक भइहाल्छ नि भन्ने छ। त्यो होइन। विदेशमा नेपाली गरेको प्रगति लोभलाग्दो छ। अस्ट्रेलियामा सम्पत्ति जोड्नेमा नेपाली अग्रणी स्थानमा छन्। सबैले सुखसुविधा र अवसर खोज्ने हो।
विदेशमा जन्मिएका नेपालीको संस्कृति र संस्कार फरक हुन्छ। नेपाल आउन चाहेमा उनीहरूलाई समस्या हुँदैन?
दोस्रो पुस्तालाई त्यति गाह्रो हुँदैन। तेस्रो पुस्तालाई समस्या हुने देखिन्छ। अस्ट्रेलियनसँग होस् या अन्य विदेशीसँग उनीहरूले स्वतन्त्रता सिकेका हुन्छन्। हामी आफूसँगै राख्न खोज्छौँ तर सकिँदैन। उनीहरुसँग त्यो तन्तु मिल्दैन। आमाबुवासँग स्वदेशको संस्कृति हुन्छ, उनीहरुसँग विदेशको। सबै कुरा मिल्न गाह्रो छ।
बुढेसकालमा आमाबाबुलाई पाल्नुपर्छ र आफैँले स्याहार गर्नुपर्छ भन्ने हाम्रो संस्कृति छ। हामीले मागी बिहेको कुरा गर्दा उनीहरूलाई सम्झाउन असहज हुन्छ। उनीहरु त्यो स्वीकार गर्ने पक्षमा छैनन्। अभिभावकसँग पैसा माग्दा पनि ऋण माग्छन्। विदेशमा जानेबित्तिकै भाषा र खाना मिल्दैन। संस्कार त झनै मिल्दैन। तास्मानियामा त दोस्रो बोल्ने भाषा नै नेपाली भइसकेको छ।
यहाँको अवस्था र सिकाइ प्रक्रिया नमिलेको हो?
आफू सबै काममा दक्ष हुनुपर्छ वा आफू एउटा काममा दक्ष छ भने अर्कोले अर्को काम जानेको हुनुपर्छ। हामीले विकासमा पनि त्यही मोडल अपनाउनुपर्छ। गाउँको एक भेगमा गएर सबैलाई कपाल काट्न सिकाउने होइन। त्यहाँ केहीलाई कपाल काट्न, केहीलाई सिँगार्न, केहीलाई कपडा सिउन, केहीलाई विद्युत्-ढलको ज्ञान दिन आवश्यक हुन्छ। एउटा गाउँ गएर ५० जनालाई एकै प्रकारको सीप सिकायो भने त्यो गाउँमा अन्तिममा ५० जना बेरोजगार हुन्छन्। हामीकहाँ त्यही भइरहेको छ। त्यो गडबड मिलाउन सकेमा राम्रो हुनेछ।
प्राथमिक तहदेखि नै सीप सिकाउनुपर्छ। हाम्रो वातावरण छ। हिमाल, तराई र पहाड भएको मुलुक। अर्ब-अर्ब जनसंख्या भएको छिमेकीका बीचमा हामी छौँ भन्ने कुरा हाम्रा सन्ततिलाई जानकारी दिँदै आफ्नो स्थानको महत्त्व बुझाउन सकेमा कुनै दिन हामीले नेपालमा बसेर दुई शक्ति राष्ट्रमा ठूला व्यापार गर्न सक्छौँ। नेपालमा विदेशी आउने अवस्था आउँछ। त्यसका लागि हामी उदार हुँदै काम गर्न आवश्यक छ।
पैसाले मात्र विकास हुने भए त सुनखानी भएका देश माथि जानुपर्ने हो। सुनखानी भएका मुलुक सबैभन्दा कंगाल छन्। सोच धनी बनाउन आवश्यक छ। नेपालीसँग नेपालीले कुनै काम अस्वीकार गर्छ तर त्यही मानिस विदेशीसँग मन लगाएर काम गर्छ। हाम्रो सोच हेर्नु नि? हाम्रा नेता यहाँका विद्वान् भेट्न समय दिँदैनन् तर विदेशबाट आउने सामान्य कर्मचारीसँग गफिएर तस्बिर सार्वजनिक गर्न भ्याउँछन्।
उसो भए बाहिर गएका नेपाली फर्किएर मुलुक बनाउन प्रयास गर्दैनन् हैन?
बाहिर गएकाले होइन यहीँ रहेकाले मुलुक बनाउने हो। बाहिर गएकाहरूले त आफ्नो काम, परिवारको अवस्था र व्यवस्थापन सोच्दैमा भ्याउँदैनन्। नेपालमा उच्चशिक्षा लिएकाले पनि विदेशमा गएर त्यहाँको कार्स पूरा गर्नैपर्छ। अनि त्यसमा समय बित्छ। अर्को कुरा सबैको समान विकास हुनुपर्छ। पाँच जनाको परिवारमा एक जना राम्रो भएरमात्र विकास हुन सक्दैन। हरेक मानिसले आफ्नो क्षेत्रबाट के काम गरेँ भनेर सोच्न आवश्यक छ। राजनीतिक रूपमा यति प्रगति गरेको मुलुकले विकास किन गरेन त? सबै मानिस राजनीतिमा लागे। राजनीतिलाई पैसा कमाउने भाँडो बनाए। अनि कसरी मुलुक बन्छ? मुलुकलाई कसरी अघि बढाउने भन्नेमा कोही पनि लागेनन्। हाम्रो मुलुकको कमजोरी छ। नेताहरूको पनि कमजोरी छ। त्यसैले मुलुकमा सहजै प्रगति हुने देख्दिनँ।
गैरआवासीय नेपालीले नेपालको अवस्थाबारे सोच्ने र मुलुक बनाउन त्यहाँको अनुभव ल्याउने कुरा पनि हुन्छ नि होइन र?
नेपालीहरू विभिन्न मुलुकमा छन्। विदेशमा रहेकै नेपाली पनि समृद्ध छन्। उनीहरूको पुँजीको सदुपयोग गराउन सक्नुपर्छ। नेपालमा केही गर्न नसकेर विदेश गएका र त्यहाँ निकै तल्लो स्तरको जगिर खाएको पनि भन्ने गरिन्छ। त्यो होइन।
मलाई धनगढीमा छँदा राम्रो परिवारको सदस्य हुँ जस्तो लाग्थ्यो। तर काठमाडौँ आउँदा दुःख गर्नुपर्ने अवस्था आयो। भाँडा माझ्ने, दुःख गर्ने जस्ता संघर्षका चरण हुन्छन्। विदेशीले घरबार दिएर लगेको मानिस त होइनौँ हामी। अस्ट्रेलियाकै कुरा गरौँ, सीप छ भनेर मात्र हामीलाई बस्न दिएका हुन्। छोटो समयमै स्थापित भएकाहरू धेरै छन्। तीन लाख नेपाली छौँ होला अस्ट्रेलियामा।
हामी छिटो प्रगति गर्नेमा अगाडि छौँ। हामीलाई दुःखीगरिब देखे भने त्यो उनीहरूको कमजोरी हो। अस्ट्रेलियामा रहेका नेपाली समस्यामा छैनन्। उनीहरूले घरजम गरेका छन्। प्रगति गरेका छन्। घुलमिल भएर बसेका छन्। कमाउने मानिसले लगानी गर्न पनि खोजेका छन्।
नेपालमा हामीले काम गर्न सामान्य मजदुर पनि पाएका छैनौँ। हाम्रा युवा मजदुरी गर्न जाने अनि हामीचाहिँ सामान्य मजदुर खोज्दै विहारमा पुग्नु त राम्रो भएन। गरे के हुँदैन? अहिले काठमाडौँमा हर्न सुनिँदैन। पहिला त्यही हर्नले दिक्क थियौँ हामी। नियम बनाएर लागू गर्न सक्नुपर्छ, काम हुन्छ। काम गर्न दिनुभन्दा अगाडि कमिसन किन दिने भन्ने जस्ता कुराले पनि समस्या भएको हो। यहाँ आफ्नो पैसा ल्याउनसमेत सरकारलाई पाँच प्रतिशत बुझाउनुपपर्छ।
एनआरएनएमा आफैँ विवादमा छ। यस्तो संस्थाले के गर्न सक्छ भन्ने पनि छ हैन?
एउटा भुल नगरौँ। गैरआवासीय नेपाली संघमा लागेका मात्र गैरआवासीय नेपाली हुन् भन्ने भ्रम नहोस्। अप्ठ्यारो पर्दा मात्रै गैरआवासीय नेपाली खोज्ने चलन छ। समुदायमा लागेर सहयोग गरेका कैयौँ नेपाली छन् तर उनीहरूलाई नेतागिरी गरेको भन्ने छ। कुनै पनि संघसंस्थामा लाग्ने भनेको राम्रो कुरा हो। यसैलाई गलत रूपमा लिइन्छ नेपालमा। एनआरएनमा गएपछि राजनीति गर्न पाइन्छ भन्ने पनि होला।
समाजसेवा गर्न चाहनेहरूलाई दलका नेता बोक्न मात्र किन जाने भन्ने पनि होला। सक्नेले मुलुक बनाउँछु भने हो भने ठिकै होला। बिनाइखको राजनीतिले केही हुने देखिँदैन। सर्पले सर्पको खुट्टा देखेको हुन्छ भनेको शैलीमा नेपालको राजनीति चलेको छ। हामी त नेपालको गणतन्त्रलाई ‘मिलिजुली डनतन्त्र’ पो भन्न थालेका छौँ। एकलाई कारबाही हुन खोज्दा अर्कोलाई बचाउने, अर्कोले तेरो पोल खोल्दिन्छु भनेमा डराएर पूरै रोइकराई गर्ने अनि मिलेर खाने काम भइरहको छ। गैरआवासीय नेपाली संघभित्र त्यही संस्कृति बोकेकाहरु पनि छन्। उनीहरूलाई नेपालमा लगानी गर्ने भन्दा नेताहरूसँग मिलेर कसरी लुट्न सकिन्छ भन्ने छ। व्यक्तिगत फाइदा लिन एनरआएनमा लाग्नेहरू धेरै छन्। कोही बदनाम पनि छन्।
अध्यक्ष बनेपछि राजनीतिक दलको कार्यालयमा किन जाने? नेताको घरघरमा किन जाने? आफ्नो डायस्पोराका लागि काम गर्ने नि! अनावश्यक रूपमा नागरिकता भनेका छन्, के भनेका छन्। त्यसको कुनै तुक छैन। आफ्नो घरपरिवार चलाउन नसक्नेहरू पनि एनआरएनको मुद्दामा लागेका हुन्छन्। गलत धन्दा गरेर ठग्दै हिँड्नेहरूले पनि एनआरएनए भनेर छुट पाइरहेका छन्। यस्तालाई किनारा लगाउँदै जानुपर्छ।
एनआरएनका केही पदाधिकारीहरूका कारण संस्थाकै गरिमामा आँच पुगेको जस्तो लाग्दैन तपाईँलाई?
आफ्नो कमाइले घर चलेको छैन भने किन र कसरी एनआरएनमा लागेर काम गर्ने? त्यहाँ कि ठग्छु भनेर आएको हुनुपर्यो कि छलछाम गरेर एकपटक नेतृत्वमा पुग्छु भनेर आएको हुनपर्यो। एनआरएनमा लागेकाहरुलाई नियालौँ न, यिनीहरू कसरी काम गरिरहेका छन्। बच्चालाई पढ भन्दासम्म पढ्दैनन्। पढ्नुपर्छ भन्ने ज्ञान आएपछि आफैँ पढ्न थाल्छन्। त्यसैले आफ्नो परिवार अब्बल बनाएर मात्र राजनीतिमा लाग्नुपर्छ। विदेशमा घण्टा गनेर काम गर्ने हुन्छन्। आफ्नो कामको सुरक्षा छैन। काम गरेर भन्दा मागेर खान पल्केकाहरूको बोलवाला हुँदा संघकै बेइज्जत भइरहेको छ। त्यसैले यसमा सुधार आवश्यक छ। अनिमात्र नेपालमा लगानी भित्रिने कुरा गर्न सक्छु। लगानी गर्न सक्ने नेपाली भएका छन्। सबै सरकारी भत्ता छलछाम गरेर खाने र ब्ल्याकमेल गरेर खाने मात्र यहाँ छैनन्।
एनआरएनले नागरिकता पाउने विषयमा युद्ध जितेझैँ गरिरहेको छ, अब गैरआवासिय नेपाली आएर बनाउलान् नि?
विदेशमा रहेका नेपालीको समस्या नागरिकता हुँदै होइन। त्यहाँ अवैध बस्नेहरूलाई चाहिएको हुन सक्छ। अन्यलाई किन नागरिकता आवश्यक पर्छ र? जहाँ गयो त्यहीँ बसे भइहाल्यो। जुन मुलुकमा बसेको हो त्यो मुलुक छोडेर आगामी दिनमा आफ्नो नागरिकता नेपालमा ब्युँतिन्छ भने त्यसमा धेरै चिन्ता लिनुपर्ने विषय होइन। भोट हाल्ने राइट भन्छन् अनि एउटै मानिसले दुईतिर नेता छान्ने? भोट नै हाल्ने हो भने नेपाली नागरिकता बोकेका गैरआवासीयलाई मात्र दिनुपर्छ। अर्काे देशको नागरिकता लिने अनि आफ्नो मुलुकमा नेता चुन्ने कस्तो चलन हो? कहाँ छ त्यो दुईतिर भोट गर्ने व्यवस्था? जे पनि भनिदिने? मैले नागरिकता त्यागेको छैन। भिसा लिएर बसेको छु। बस्नका लागि सहज छ। फर्केर आउँदा त नागरिकता पाइहालिन्छ। यहाँभन्दा बढी सुविधा पाउने देशको नागरिकता लिन पाइन्छ भने किन दुईवटा नागरिकता लिनु?
एनआरएनको उद्देश्य के हो त?
नेपााल बनाउन यो संगठन बनेको होइन। आफूलाई संगठित गर्न बनाएका हुन्। विदेशमा रहेका नेपालीको समस्या समाधानमा पनि जेड्न खोजेको हो। विदेशमा दलैपिच्छेको संगठन छन्। सबै मानिसको फरकफरक कुरा छ। जसरी खानका ललगअलग परिकार हुन्छ, संगठन पनि त्यस्तै हो। त्यसैले सबै संथा चाहिन्छ। सही उपयोग हुनुपर्छ। संगठन ठूलो हुँदा मात्र राम्रो हुने होइन। कसरी काम गरेको छ के काम गरेको छ भन्नेबाट संस्था बनेको हुन्छ।
गैरआवासीय नैपालीको फोकल मन्त्रालय परराष्ट्र हो। मन्त्रालयले सबै पक्ष्मा अध्ययन गर्नुपर्ने हो। तर कतै अध्ययनअनुसन्धान भएको पाइँदैन। उल्टै यसोउसो भनेर गुनासो गरेको सुन्छुु। परराष्ट्र मन्त्रालयले दूतावासमार्फत डाटा राख्ने र को कहाँ छ? त्यो अध्ययन गर्ने हो। कसको केमा विद्वत्ता छ त्यो नियाल्ने हो। मुलुकका लागि कसबाट कति फाइदा लिन सकिन्छ त्यो केलाउने हो। मन्त्रालयले एनआरएनएलाई छाडा छोड्नु हुँदैन। त्यसमा केही स्वार्थ लुकेको भए स्पष्ट पार्नुपर्छ तर अधिकार र व्यापारका नाममा मुलकुलाई खोक्रो पार्ने गरी हुन्ण्डी कारोबारदेखि अनेकौँ धन्दामा रहेकालाई पनि पहिचान गर्न आवश्यक छ।
नीति राम्रो भएमा लगानी आउँछ कि त?
नेपालका बैंक र वित्तीय संस्थामा समस्या छ। लगानीभन्दा बढी धितो लिएर लगानी गर्ने बैँकलाई पनि हामी बैँक भनेर बसेका छौँ। आफू कमाउने र आफ्ना ग्राहक घाटामा गए धितो लिलाम गर्न पाइन्छ अनि फाइदा हुन्छ भन्ने मान्यतामा बैंक तथा वित्तीय संस्था सञ्चालित छन्। पहिलो विश्वमा त्यस्तो हुँदैन। बैंकले व्यापार हुने ढाँचाको प्रस्ताव पाए लगानी गर्छ। यहाँ त्यो सोच्नसमेत सकिँदैन अनि कसरी व्यवसाय उँभो लाग्छ? नेपालका बैंकले कुन क्षेत्रमा कसरी लगानी गर्ने भनेर रणनीति बनाएर लाग्नुपर्नेमा धितो लिलामको रणनीतिमा मात्र सोचेका हुन्छन्। अरब, कोरिया, जापानबाट फर्केका नेपालीले राम्रो प्रस्ताव लिएर काम गरेनगरेको निगरानी गरेर लगानी गर्न बैँक तयार हुनुपर्छ।
सबै जना आआफ्नो स्थानबाट जिम्मेवार हुने भने विकास टाढा छैन। कूटनीति नबुझेका परराष्ट्रमन्त्री र राजदूत, अर्थतन्त्र नबुझेकाहरु बजेट बनाउने टेबुलमा अनि विश्व परिवेश नबुझेकाहरु समाजको पुनर्संरचना गर्ने भनेर लाग्ने अनि कसरी हुन्छ परिवर्तन?
विदेशमा रहँदा केही कुरा गुमाउनु भएको छ कि?
हामी अवसर नपाएर विदेश गएका होइनौँ। विदेशमा रहेका बेला आमाबा केही भएमा गाउँमा अर्को कोहीलाई लौन भन्नुपर्ने अवस्था छ। हामीले ठूला कुरा गरेर भयो र? यो सबैको पीडा हो। अस्ट्रेलियामा मेरा एक जना अभिभावकजस्तै साथी हुनुहुन्छ। उहाँको सबै परिवार अस्ट्रेलियामा छन्। ठूलाबुवा, आमा र छोराबुहारी नेपालमा छन्। अथाह पुर्ख्यौली सम्पत्ति छ। त्यो हेरविचारका लागि भए पनि ती भाइलाई नेपालमा राख्नुपर्छ। नत्र त्यो सम्पत्तिको कुनै महत्त्व हुँदैन। यस्तो समस्या धेरैको छ।
नेपालको निराशाजनक अवस्थालाई कसरी परिवर्तन गर्ने त?
म आशावादी मानिस हुँ। कुनै पनि निर्णय बुझेर मात्र लिनुपर्छ। लामो अध्ययन गर्न आवश्यक हुन्छ। हाम्रै पुस्ताले देखेको हो रेडियो बजाउन लाइसेन्स राख्ने मुलुक। अहिले गणतन्त्र मात्र आएको छैन, जेल परेको मानिस गर्वका साथ जेल छुट्छ र माला लाएर छुटाउने नेताकहाँ पुग्छ। गणतन्त्र यसका लागि त होइन होला।
दुई दशक दुःख गर्ने नेपालीले सिड्नीमा घरबार बनाएर बसेका छन्। यहाँ किन सक्दैनन्? फरक यत्ति हो कहाँ कति सजिलो छ? हरेस खानु हुँदैन। आफूले इमानदार प्रयास गरेर लागिरहनुपर्छ। एक दिन सफल भइन्छ। हरेकले मुलुकको सच्चा नागरिक हुँ भनेर कर्तव्यबोधसहित काम गर्ने हो भने मुलुक बन्छ। आशा राख्नुपर्छ। उच्च सपना देख्नुपर्छ।
हामीले लिएको शिक्षाले विदेशमा गएर काम गर्न सहज थिएन। अहिलेको पुस्तालाई सहज होला। हामी आफँैले विकास गरेका हौँ। चाहे जे पनि गर्न सकिँदो रहेछ। सबै मानिसमा परिवर्तन हुन आवश्यक छ। एकै दिनमा आएर मुलुक बनाउन सकिँदैन। समय लाग्छ। केही भएन होइन, केही भएको छ तर सुधार गर्दै जानुपर्छ।
भिडिओ