बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

हिमाल प्रेस २८ मंसिर २०८० १७:१६ | Thursday, December 14, 2023
बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश फाइल तस्बिर।

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन्।

पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो। त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजलासमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो। १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो।

न्यायाधीश पाण्डेले खाणले प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान दिँदा अभियोग दाबीको कसुरमा पूर्णत: इन्कार रही बयान दिएको, भुटानी शरणार्थी पहिचान गर्न तयार पारिएको प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन कसरी तयार भयो भन्ने आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएको लगायत आधार देखाएका थिए।

प्रकाशित: २८ मंसिर २०८० १७:१६ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast