कोशीमा हात्तीको आक्रमण बढ्दो, जोगिने कसरी?

विवेक विवश रेग्मी २७ मंसिर २०८० १६:५६
52
SHARES
कोशीमा हात्तीको आक्रमण बढ्दो,  जोगिने कसरी? मोरङको बेलबारीस्थित एक घरमा हात्ती आक्रमणबाट भएको क्षति। तस्बिर : हिमाल प्रेस

घटना १ : मंसिर ५ गते झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्ती आक्रमणबाट मृत्यु भयो। शिविरबाहिरको हम्से-दुम्से सामुदायिक वनमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।

घटना २ : मंसिर १३ गते राति सुनसरीको इटहरी-२ मा हात्तीको आक्रमणबाट स्थानीय रवीन खड्काको मृत्यु भयो। चारकोसे झाडीबाट बस्तीमा छिर्न लागेको हात्ती धपाउने क्रममा खड्कालाई आक्रमण गरेको थियो। स्थानीयको साथमा हात्ती धपाउन पुगेका रवीन जंगल क्षेत्रमा आक्रमणमा परेका थिए।

घटना ३ : मंसिर १५ गते झापाको हल्दिबारी-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको हात्ती आक्रमणबाट मृत्यु भयो। जंगलबाट आएको  हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको थियो।

घटना ४ : मंसिर १८ मोरङको बेलबारी-३ लेटाङका ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणबाट मृत्यु भयो। साइकलमा यात्रा गरिरहेका उनलाई बेलबारी-१० भाउन्नेमा जंगली हात्तीले आक्रमण गरेको थियो।

१४ दिन अवधिमा कोशी प्रदेशमा हात्ती आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस्तै हात्तीले बालीनाली र भौतिक सम्पत्तिमा क्षति पुर्‍याएको छ। मानवमाथि आक्रमणका घटना रात वा बिहानको समयमा भएका छन्।  कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम भन्छन्, ‘हात्तीको बासस्थान टुक्रिँदै गएको छ। बासस्थान खण्डीकरण हुँदै गएकाले हात्ती मानव बस्तीमा पस्न थालेका हुन्।’

हात्तीको आनीबानी नबुझेर मान्छेले जिस्क्याउँदा  क्षति भइरहेको उनको भनाइ छ। ‘हात्तीको आनीबानी नबुझेर उसको छेउसम्मै पुग्ने, चलाउने, जिस्काउनेजस्ता काम गर्न हुँदैन,’ गौतमले भने, ‘मानिस सचेत भयौँ भने हात्तीबाट हुने मानवीय क्षति पूर्ण रूपमा रोक्न सक्छौँ।’ बालीनालीको क्षति हुन नदिन मान्छेले हात्ती धपाउने क्रममा गरेको गल्तीले मानवीय क्षति भइरहेको उनले बताए।

हिउँद सुरु हुने क्रममा हात्ती गाउँतिर पस्ने सम्भावना बढी हुने उनले सुनाए। गौतमले भने, ‘आफ्नो रुटमा हिँड्ने ठाउँ टुक्रिएकाले हात्ती मानव बस्तीमा पसेको हो। छिट्टै अघाउनका निम्ति बालीनालीमा पस्छ। बालीनाली क्षति भएमा राज्यले राहत दिन्छ। तर ज्यानभन्दा ठूलो कुरा होइन।’

तस्बिर साभार : राष्ट्रिय प्रकृति संरक्षण कोष

बालीनालीमा क्षति हुँदा राज्यले राहत दिने भएकाले पनि हात्ती धपाउन एक्लै जान नहुने उनले बताए। बढीजसो बिहान र साँझको समयमा हात्ती सक्रिय गौतम सुनाउँछन्। ‘बिहान, साँझ घाँसदाउरा गर्न जाँदा पनि हात्तीले आक्रमण गर्छ। जाडोको समय र हुस्सु लाग्ने हुँदा नजिकै रहेको हात्ती देखिँदैन,’ उनले भने, ‘जंगलसँग जोडिएको बस्तीमा सतर्क अपनाउनुपर्छ।’

जंगलभित्र छिर्नु भनेको हात्तीको क्षेत्रभित्र छिर्नु रहेकाले पनि हात्तीले इगो लिने उनको भनाइ छ। ‘हात्ती धपाउँदा दुरी राखेर धपाउनुपर्छ। छोटो दुरीमा चाँडै दौडन्छ,’ गौतमले भने, ‘मानिसमा सचेतनाको अभ्यास पनि हुन जरुरी देखिन्छ।’

गौतमका अनुसार हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउँछ। उनी भन्छन्, ‘होहल्ला नभएको अवस्थामा हात्ती फर्किन्छ। तर खानेकुरा भेटेर रमाउँदा हात्ती त्यहीँ बस्न पनि सक्छ। उसलाई चोटपटक लाग्यो भने ज्यानै लिन पनि सक्छ।’

पछिल्लो समय सुनसरी, मोरङ र झापालगायतका क्षेत्रमा दुई दर्जन बढीको संख्यामा आएका हात्तीका बथानले मानवीय तथा भौतिक रूपमा क्षति हुँदै आएको छ। ‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदैमा रात बित्छ’, मोरङको बेलबारी-१० का तेजबहादुर दाहाल भन्छन्, ‘साँझमा खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाल्यो, हामीले भागेर ज्यान बचायौँ।’ साँझ पर्न नपाई बस्ती छिर्न थालेका जंगली हात्तीको बथानले यहाँका मानिसहरू आतंकित भएको उनले बताए।

केही दिनअघि आएका हात्तीका बथानले स्थानीय रवीन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो। बेलबारी वडा नम्बर ८ र १० मा मात्रै बीसौँ बिघामा लगाइएको मकै र केराखेतीमा हात्तीले क्षति पुर्‍याएको बेलबारी १० का वडाध्यक्ष गंगाबहादुर याख्खाले बताए।

प्रकाशित: २७ मंसिर २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast