‘सेक्स हब होइन’ रात्रिकालीन मनोरञ्जन क्षेत्र

रमेश भारती २६ मंसिर २०८० १८:०६
258
SHARES
‘सेक्स हब होइन’ रात्रिकालीन मनोरञ्जन क्षेत्र प्रतिनिधिमूलक तस्बिर। स्रोत : पिक्सेल

काठमाडौँ– मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई समाजले सधैँ नकारात्मक व्यवहार गर्ने गरेको गुनासो यस क्षेत्रमा संलग्न युवतीहरूले गरेका छन्। काम गर्ने ठाउँ असुरिक्षत रहेको र समाजले पनि गलत व्यवहार गर्दा आफूहरूमाथि पीडा थपिएको उनीहरू बताउँछन्।

‘बारमा नृत्य गर्छु भन्दा हाम्रो समाजले घृणाको नजरले हेर्छ। एक त मनोरञ्जन क्षेत्र महिला कामदारका हकमा असुरक्षित छ’, काठमाडौँको नयाँ बसपार्कको दोहोरी र डान्सबारमा काम गर्दै आएकी २७ वर्षीया युवती एक (नाम परिवर्तन) ले भनिन्। उनले जनसंख्यामा डिग्री गरे पनि रोजगारी पाइनन्। राम्रो नृत्य गर्न आउँथ्यो। जागिर नपाएपछि डान्सबारमा नृत्य गर्न थालेको युवती एकले बताइन्।

रात्रिकालीन मनोरञ्जन क्षेत्र भनेर मसाज पार्लर, क्याबिन, खाजाघर, दोहोरी साँझ, डान्स बार आदिलाई तोकिएको छ। युवती एकलाई पहिलापहिला रातको समयमा काम गर्न कठिन भयो। अहिले बिस्तारै बानी पर्न थालेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने केटी भनेपछि जे मन लाग्यो त्यही गर्दा हुन्छ भन्ने पुरुष पनि छन्। उनीहरू हाम्रो बाध्यता बुझ्दैनन्। धेरै पुरुषमा मनोरञ्जन क्षेत्र भनेको ‘सेक्स हब’ हो भन्ने मान्यता छ। यो गलत हो।’

युवती एकले एनजीओमा काम गर्छु भनेर आफ्नो पहिचान लुकाएर कोठाभाडामा लिएकी छन्। उनी गण्डकी प्रदेशबाट काठमाडौँ आएकी हुन्।

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला प्रहरी प्रशासनबाट समेत असुरक्षित हुनुपरेको कोशी प्रदेशबाट काठमाडौँ आएर काम गरिरहेकी युवती दुई (नाम परिवर्तन) बताउँछिन्। महिला अधिकारको आवाज उठाउने वकिल, प्रहरी, सरकारी कर्मचारी, मिडियाकर्मी र राजनीतिक दलका नेताले समेत मनोरञ्जन क्षेत्रका युवतीमाथि दुर्व्यवहार  गर्ने गरेको उनको दुःखेसो छ।

‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई सधैँ हेपाहा प्रवृत्ति र नकारात्मक नजरले हेरिन्छ। सुरक्षामा खटिएका प्रहरीले पनि तँ त्यस्ती होस् भन्दै जथाभाबी हातपात गर्छन्’, उनले भनिन्। प्रहरीले विभिन्न बहानामा धम्क्याएर शारीरिक शोषण गर्ने गरेको युवती दुईले बताइन्। डयुटीमा आएका प्रहरीले साहुसँग सेटिङ मिलाएर जबरजस्ती मनोरञ्जनको साधन बनाउने गरेको उनको गुनासो छ। उनका अनुसार प्रहरीले भनेको नमान्दा वेश्यावृत्तिमा लागेको आरोपमा पक्राउ गर्ने गरेको छ।

बीबीएस उत्तीर्ण २३ वर्षीया युवती दुई डिग्री अध्ययनका लागि काठमाडौँ आएकी थिइन्। उनी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मनोरञ्जन क्षेत्रमा काम गर्न बाध्य भएको बताउँछिन्। उनले भनिन्, ‘सानैदेखि राम्रो नृत्य गर्ने भएका कारण यो क्षेत्रमा प्रवेश गरेकी हुँ।’

युवती एक र युवती दु्ईजस्तै काठमाडौँकी २५ वर्षीया युवती तीन (नाम परिवर्तन) पनि ठमेलको एक डान्सबारमा काम गर्छिन्। विवाह गरेको दुई वर्षपछि पतिले छाडेपछि आफ्नो पेट पाल्न डान्सबारमा काम गर्न पुगेको उनी बताउँछिन्। चार वर्षदेखि डान्सबरमा कार्यरत युवती तीन पटकपटक शारीरिक शोषण परेकी छन्।

बारमा मनोरञ्जन गर्न आएका पुरुषले नसाको तालमा जबरजस्ती गरे पनि कानुनी उपचार खोज्न नसकेको उनले बताइन्। ‘मनोरञ्जन क्षेत्रका महिलामाथि अन्याय हुन्छ। पुरुषबाट धेरै शोषण हुन्छ। विदेशी पर्यटकले समेत दुव्र्यवहार गर्छन्’, युवती तीनले भनिन्। पुरुषले जतिसुकै दुर्व्यवहार गरे पनि कानुनी उपचार खोज्न नसकेको उनले बताइन्।

महिला नभई पुरुषलाई मनोरञ्जन नहुने तर पुरुषबाटै हिंसाको सिकार बन्नुपर्ने बाध्यता भएको युवती तीनको गुनासो छ। मनोरञ्जन क्षेत्रमा काम गरेका महिलाको घरको आर्थिक अवस्था पुरुषकै कारणबाट कमजोर हुने गरेको दाबी पनि उनको छ।

सरकारले मनोरञ्जन क्षेत्रका समस्या समाधान गर्न र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको सामाजिक सुरक्षासँगै समाजमा सम्मानजनक बाँच्न पाउने कानुनी मान्यता दिनुपर्ने यस क्षेत्रमा संलग्न युवतीहरूको माग छ।

सरकारी निकायसँग भने यस्ता महिलाको सुरक्षाका लागि कुनै योजना पाइँदैन। यद्यपि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरे मनोरञ्जन क्षेत्रमा रोजगारी गरिरहेका महिलाको सुरक्षामा सरकार सजग रहेको दाबी गर्छिन्। उनका अनुसार रात्रिकालीन व्यवसायमा कार्यरत महिला कामदारलाई आवश्यक जनचेतना, तालिम र उनीहरूको सुरक्षाका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको छ।

मनोरञ्जन क्षेत्रमा ७० हजार महिला कामदार

‘महिला मञ्च नेपाल’ले गरेको अध्ययनअनुसार देशभर ‘मनोरञ्जन’ क्षेत्रमा ७० हजार महिला कार्यरत छन्। यसरी काम गर्ने महिला १४ देखि ४५ वर्षसम्म उमेरका छन्।काठमाडौँको गोंगबु, कलंकी, सुन्धारा, ठमेल, कोटेश्वर, भक्तपुर, ललितपुरको झम्सिखेलका साथै पोखरा, विराटनगर, बिर्तामोड, धरान, नेपालगन्जलगायत सहरमा रहेका होटल, रेस्टुराँ, दोहोरी साँझ, डान्सबारमा धेरै महिलासँगै युवती श्रमिक रहेको अध्ययनमा उल्लेख छ।

अध्ययन महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाइएको छ। मनोरञ्जन क्षेत्रमा लागेका महिलामाथि काम गर्दाका अवस्थादेखि आवागमनमार्गसम्ममा पनि विभिन्न प्रकारका हिंसा तथा शोषण हुने गरेको विभिन्न संघसंस्थाको अध्ययनमा उल्लेख छ।

समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पांग्रा भनिए पनि कार्यान्वयन नभएको महिला अधिकारीकर्मी उमा तामाङ बताउँछिन्। सामाजिक संरचना र नीतिगत कमीकमजोरीका कारण महिलामाथि हिंसा भइरहेको उनले बताइन् । ‘हिंसापीडित महिलाले न्याय पाउन नसकिरहेको अवस्था हाम्रोसामु लुकेको विषय होइन। यो विषयमा राज्य बेखबर छैन। तर राजनीतिक शक्तिका भरमा समस्या दबाउने काम भइरहेको छ’, तामाङले भनिन्।

सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १६ हजार तोकेको छ। कतिपय मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकले सरकारले तोकेअनुसारको तलब नपाउने गरेको गुनासो गर्छन्। सहरी क्षेत्रमा व्यावसायिक रूपमा सञ्चालन गरिएका विभिन्न सेवामूलक मनोरञ्जन क्षेत्रहरूमा युवती कामदार नै बढी हुन्छन्।

नेपाल भित्रिने विदेशी पर्यटकलाई लक्षित गरी राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रमा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन हुने गरेका पाइन्छन्। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएका गजल, मसाज, पार्लर, क्याबिन, खाजाघर, दोहोरी साँझ, डान्सबारलगायतका मनोरञ्जनात्मक व्यवसाय गर्ने क्षेत्रमा महिलाकै माग बढी हुन्छ।

प्रकाशित: २६ मंसिर २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =