डोलेश्वर र ज्योर्तिलिंगेश्‍वरमा शतबिज छर्नेको भीड

हिमाल प्रेस २५ मंसिर २०८० १३:२०
10
SHARES
डोलेश्वर र ज्योर्तिलिंगेश्‍वरमा शतबिज छर्नेको भीड

भक्तपुर- बालाचतुर्दशीका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिंगेश्‍वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ।

प्रत्येक वर्ष मार्गकृष्ण त्रयोदशीका दिन आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएकाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन्।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी भक्तजनले हिजो साँझदेखि रातभरी जाग्राम बसेर आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन्।

सूर्यविनायक नगरपालिका–८ सिपोडोल निवासी बागमती प्रदेशसभा  सदस्य किरण थापाले विगत पाँचवर्षदेखि यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै महादीप बालेर जाग्राम बस्ने र शतबीज छर्ने गरेको बताए।

केहीवर्ष अगाडिसम्म पशुपति जाने गरेका यहाँका बासिन्दाले डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिंग स्थापना भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी दीप, महादीप बालेर रातभरी जाग्राम बस्ने र बिहानै स्नान गरी यहीँको १०८ शिवलिंग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउने गरेकाले मन्दिर व्यवस्थापन समितिले सहजीकरण गर्दै आएको उनले जानकारी दिए।

मन्दिर व्यवस्थापन समितिका पूर्व पदाधिकारी थापाले भने, ‘यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप महादीप बालेर आज बिहान शतबीज छर्दै बालाचर्तुदशी मनाएका छन्, रातभरि जाग्राम बस्नेलाई मन्दिरको चौघेरा सत्तलमा व्यवस्थापन गरेका छौँ, सुरक्षाको व्यवस्था गरेका छौँ, यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन्।’

त्यसैगरी सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं ७ गुण्डुको अनन्तलिंगेश्‍वर महादेव मन्दिर, वडा नं १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिंगेश्‍वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा त्यहाँका बासिन्दाले रातभरी जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका छन्।

मन्दिरसँगैको नदीमा दीप विसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको हो।

मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित संगमेश्वर महादेव मन्दिरमा पनि महादीप बालेर रातभचर जाग्राम बसेका छन्। त्यस्तै चाँगुनारायण नगरपालिकास्थित ज्योर्तिलिंगेश्वर महादेव मन्दिरमा पनि यहाँका बासिन्दाले दिवंगत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बसेर आज बिहान शतबीज गरेका छन्।

विगतमा पशुपतिमा जार्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिंगसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालिएकोे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका पूर्व प्रमुख नवराज गेलालले जानकारी दिए।

उनले भने, ‘चाँगुनारायणका धेरैजसो बासिन्दाले अहिले बालाचर्तुदशी यहीँ ज्योर्तिलिंगेश्‍वर महादेव मन्दिरमै मनाउने गरेका छन्, पाँचसय जनालाई पुग्ने गरी समितिले त्रिपाल हालिदिने, पानीलगायत आवश्यक सबै कुराको व्यवस्थापन गरिदिएको छ, मन्दिरमै १०८ शिवलिंग बनाएपछि शतबीज छर्न पनि सहज भएको छ, अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन।’

चाँगुनारायण–५स्थित मच्छेनारायण मन्दिर परिसरमा पनि बालाचर्तुदशी मेला भर्नेको भीड लागेको छ । यस मन्दिरमा रातभर जाग्राम बसेर शिवलिंग पूजा गरि आज बिहान स्थानीयवासीले शत्बीज छर्ने कार्य सम्पन्न गरेको बताउँदै मन्दिरका संरक्षक गोकर्ण पुरीले पशुपतिमा भीड भएर ठाउँ नै नपाउने भएपछि यहीँ रातभर जाग्राम बस्ने, महाद्वीप बाल्ने र आज बिहान शतबीज छर्ने गरिएको बताए।

यता चाँगुनारायण–८ सुँडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिंगमा आज बाला चतुर्दशीको दिन बिहानै मेला लागेको उनले बताए।

हरेक वर्ष त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा अखण्ड दीप तथा महादिप बालेर रातभर जाग्राम बस्दै आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै चर्तुदशीको दिन बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने, होमहोमादी गर्ने प्रचलन रहदैं आएको छ।

त्यसो त भक्तपुरका चारवटा नगरपालिकाका विभिन्न क्षेत्रबाट आफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिको कामना गर्दै पशुपति मन्दिर परिसरमै गएर दीप बाल्ने, रातभर जाग्राम बस्ने र शतबीज छर्ने पनि छन्।

पशुपतिको भीडमा जान नचाहनेले भने आ–आफ्ना नगरपालिकाभित्रका शिवालयमा दीप बालेर शतबीज छर्ने गर्न थालेका हुन्।

प्रकाशित: २५ मंसिर २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =