नेतृत्व

सोमप्रसाद पाण्डेयको गुनासो : पार्टीमा मलाई माधव नेपालको सम्धी भनेर चिनाउनु बेतुकको कुरा हो

किरण पौडेल २३ मंसिर २०८० १३:०३
36
SHARES
सोमप्रसाद पाण्डेयको गुनासो : पार्टीमा मलाई माधव नेपालको सम्धी भनेर चिनाउनु बेतुकको कुरा हो सोमप्रसाद पाण्डेय, पोलिटब्युरो सदस्य, एकीकृत समाजवादी

काठमाडौँ- नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय नेताको सूची लामै छ। लामो समयदेखि पार्टीमा रगत र पसिना बगाएका केही नेता यस्ता छन् जो आफूले पाएको पदभन्दा काममा विश्वास गर्छन्। उनीहरू पार्टीको उपल्लो तहमा प्रायः देखिँदैनन्। शीर्ष नेताकै वरिपरि रहने यस्ता नेताको संगठन सुदृढीकरणमा सक्रियता लोभलाग्दो हुन्छ। यस्तै सूचीमा रहेका नेता हुन् सोमप्रसाद पाण्डेय।

२०२७ सालबाट कम्युनिस्ट राजनीतिमा थालेका पाण्डेयसँग भूमिगत राजनीतिदेखि पञ्चविरुद्ध आन्दोलित हुँदाका कष्टकर दिनका स्मरण ताजै छन्। चार पटक सांसद भएका पाण्डेय अहिले नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य छन्।

पाल्पाको मध्यम परिवारमा जन्मिएका पाण्डेयलाई कम्युनिस्ट राजनीति सिक्न बाहिर जानु परेन। पण्डित दर्जा पाएका उनका बुवा (ईश्वरीप्रसाद) धेरथोर राजनीति बुझ्थे। पाण्डेयका दाजु २०२८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी सदस्य थिए। दाजुहरू कम्युनिस्ट राजनीतिमा आबद्ध भएकाले पाण्डेयले वामपन्थबारे परिवारबाटै ज्ञान प्राप्त गरे।

पाण्डेयलाई पूर्णकालीन राजनीतिमा लाग्नचाहिँ युवराज ज्ञवालीको प्रेरणा मिलेको थियो। उनी २०२८ सालमा राजनीतिमा संलग्न भए। त्यसैले उनी ज्ञवालीलाई राजनीतिक गुरु मान्छन्।

‘मलाई राजनीतिमा सम्पर्क गर्न ज्ञवालीले साथ दिनुभएको हो,’ पाण्डेय सम्झन्छन्, ‘ज्ञवालीले नै मलाई २०२९ सालमा स्कुल कमिटीमा लैजानुभयो।’ त्यसपछि उनी जिल्ला कमिटीसम्ममा परे। परिवार राजनीतिमा आबद्ध भएकाले भूमिगत छँदा उनले पटकपटक नाम परिवर्तन गरेका थिए।। पार्टीमा उनी कहिले शरण र कहिले किरण नामबाट चिनिए।।

‘हाम्रो घर सेल्टर थियो। जीवराज आश्रित, युवराज ज्ञवाली हाम्रै घरमा सेल्टर बस्नुहुन्थ्यो,’ पाण्डेय सम्झन्छन्, ‘माधव ज्ञवाली, सिद्धिनाथ ज्ञवालीजस्ता नेताहरू आउँथे। बुवासँग उहाँहरूले कुरा गरेको सुन्दा मलाई पनि राजनीतिले तानेको हो।’ ज्ञवालीहरू भूमिगत राजनीति गर्थे भने पाण्डेयहरू त्यसको अनुशरण गर्दथे।

‘हामीलाई साह्रै कष्ट थियो। भूमिगत भएर राजनीति गर्दा तत्कालीन राज्यसत्ताले हामीमाथि कडा निगरानी गर्थ्यो’, पाण्डेय सम्झन्छन्, ‘हत्केलामै ज्यान लिएर हिँड्नुपथ्र्यो। केपी ओलीहरूचाहिँ जेल परेकाले गाह्रो भएन। हामी खुला हुनेलाई सजिलो थिएन।’

पार्टीमा लागेको पाँच दशक बित्यो। पाण्डेयको राजनीतिक ऊर्जा घटेको छैन। त्यसैले त उनी संगठन विस्तारमा सक्रिय छन्। कानुनमा उच्चशिक्षा लिन राजधानी छिरेका उनी सुरुवाती दिनदेखि पार्टीका विभिन्न कमिटीमा रहँदै आएका छन्। उनी भन्छन्, ‘म २०२८ सालयता कुनै न कुनै संगठनमा छु। एउटा न एउटा कमिटीमा बस्दै आएको छु।’ चाखलाग्दो कुराचाहिँ उनी कहिले जिल्ला कमिटीमा हुन्थे त कहिले घटुवामा परेर वडा कमिटीमा आइपुग्थे।

नेकपा मार्क्सवादीमा रहँदाको त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘पाल्पामा जिल्ला कमिटीमा परेको थिए। राजधानी आएपछि वडाध्यक्षको जिम्मेवारी दिइयो।’ संगठनले दिएको जिम्मेवारी आफूले सकेसम्म इमानदार भएर पूरा गरेको उनी बताउँछन्।

पाण्डेय २०३५ सालदेखि २०४२ सालसम्म मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीमा रहे। त्यसपछि उनको राजनीतिक फड्को नेकपा (माले) तिर भयो। उनी भन्छन्, ‘मेरी पत्नी २०३५ सालबाटै माले थिइन्। म २०४२ सालमा मालेमा गएँ।’ दुवै पार्टी २०४७ सालमा नेकपा एमाले गठन भयो।

पाण्डेयलाई माक्र्सवादी पार्टी क्रान्तिकारी लाग्छ। मालेमा कम लगानी भएका व्यक्तिले पद पाउने सम्भावना थिएन।

पाण्डेयले २०५० सालतिर एमाले प्रचार विभागमा जिम्मेवारी पाए। प्रचार विभाग प्रमुखमा प्रदीप नेपाल थिए। पाण्डेय र शम्भु श्रेष्ठ मिलेर भारतबाट प्रेस ल्याए। देशमा नेपाली कांग्रेसको एकमना सरकार थियो। एमाले प्रमुख प्रतिपक्षी दल। उनी चाहन्थे, मिडियामा आबद्ध भएर केही काम गरौँ। तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरिदिएपछि मिडियामा काम गर्ने इच्छा पूरा हुन नसकेको पाण्डेय बताउँछन्।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेले पाण्डेयलाई पाल्पा निर्वाचन क्षेत्र २ बाट टिकट दियो। उनी भन्छन्, ‘मध्यावधि नभएको भए म पत्रकार हुन्थेँ होला। त्यो चुनाव मेरो राजनीतिक जीवनमा टर्निङ प्वाइन्ट बन्यो।’ त्यो चुनाव जितेपछि उनी संसदीय राजनीतिमा पूर्ण रूपमा संलग्न भए। संसद्मा रहँदा जनताका जल्दाबल्दा मुद्दा अघि सार्न उनी कहिल्यै पछि परेनन्।

पाण्डेय २०५६ सालमा पनि सांसद निर्वाचित भए। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन परिणाम उनको पक्षमा आएन। २०७० को दोस्रो संविधासनभा र २०७४ को संघीय प्रतिनिधिसभा निर्वाचनमा पाण्डेय निर्वाचित भए।

जनताको सुखदुःखमा साथ दिइरहेका कारण पटकपटक चुनाव जितेको बताउँछन्। २०७९ को चुनावमा उनी एमालेका ठाकुर गैरेसँग पराजित भए। पार्टी फुटको असर पर्‍यो। पाण्डेय सांसद बन्न पाएनन्।

गैरेले २७ हजार ८ सय १७ मत ल्याएर निर्वाचित हुँदा पाण्डेयले २३ हजार ८५१ मत पाएका थिए। पाण्डेय आफूले ‘अत्यन्तै बढी मत’ ल्याएको दाबी गर्छन्। ‘समाजवादीको मत ८ हजार मात्र थियो। हामीले कांग्रेसको भरमा चुनाव लडेका थियौँ’, उनी भन्छन्। कांग्रेसले आफूलाई धोका दिएको गुनासो उनको छ। पाण्डेय भन्छन्, ‘हुन त कांग्रेस हामीलाई मात्र होइन आफ्नै पात्रलाई धोका दिने दल रहेछ।’

२०७९ को चुनावमा पाल्पाली कार्यकर्तालाई सांसद चुन्न सकस परेको थियो। एमालेमा रहेका बेला पाण्डेय र गैरे माधवकुमार नेपाल गुटमा थिए। गैरे एमालेमै छन् भने पाण्डेय एकीकृत समाजवादीमा लागे। ‘असल र विवेकशील कार्यकर्ताले पहिल्यै पार्टी चुनेका थिए। केही कार्यकर्ता दोधारमा नपर्ने कुरै भए’, पाण्डेय भन्छन्।

ओली-नेपाल मिलाउने असफल प्रयास

एमाले विभाजनअघि केपी शर्मा ओली र माधवकुमार नेपालबीच निकै मनमुटाव थियो। दुई नेतालाई मिलाउन पाण्डेयले निकै प्रयास गरे। उनी पार्टी फुटाउने पक्षमा थिएनन्। अन्तिम अवस्थासम्म दुवै नेता मिल्छन् भन्नेमा ढुक्क थिए। त्यसैले नेपालको दूतका रूपमा ओलीसँग छलफलमा जुटे।

२०७८ भदौ २ गते उनी स्कुलको कार्यक्रमले गर्दा पाल्पा गएका थिए। ‘त्यो दिन पार्टी फुट्छ भन्ने लागेकै थिएन। म फुटाउने पक्षमा थिइनँ’, पाण्डेय सम्झन्छन्। त्यही दिन उनी काठमाडौँ फर्किए। माधव नेपालसँग कुरा गरे। उनलाई नेपालको कुरा सुन्दा केही लचक जस्तो लाग्यो। ‘नेपालले पार्टी एकताका लागि ओली तयार छन् भने सोच्न सकिन्छ भन्नुभएको थियो। मैले पनि भदौ ७ गतेसम्म एकीकरणका लागि प्रयत्न गरिरहेँ।

पाण्डेयका अनुसार सोही दिन ११ः४५ बजेसम्म उनी र रघुजी पन्त एकता प्रयासमा ओली निवास बालकोटका थिए। उनी भन्छन्, ‘त्यसबेला पनि नेपालले भन्नुभएको थियो। ओलीले हामीमाथि गरेको कारबाही फुकाउन चाहन्छन् भने सोचौँ भन्नुभएको थियो।’

नेपालले दोस्रो अध्यक्ष लिने सर्तमा पनि आफू निकट नेताहरूलाई बालकोट पठाएका थिए। बालकोटमा पुगेर पाण्डेय र पन्तले ओलीलाई सोही सर्त सुनाए। ओली तयार भएनन्। पाण्डेय र पन्त ओली निवासबाट निस्किए।

पार्टी फुट्नै निश्चित भएपछि पन्त र पाण्डेयबीच अब कुन समूहमा जाने भन्ने छलफल भएछ। पाण्डेयले अब नेपाललाई साथ दिऔँ भनेका थिए तर पन्तले मानेनन्। अनि पन्त पनि पाण्डेयको कुरा मान्न तयार भएनन्। पाण्डेयले पन्तलाई घरमा छाडिदिए। भोलिपल्ट (भदौ ८) बिहान पाण्डेयले नेपाललाई भेटे र ओलीसँगको कुराकानी सुनाए।

पाण्डेय एमाले विभाजनको त्यो क्षण एकदमै दुःखदायी रहेको स्मरण गर्छन्। विभाजनपछि पनि पाण्डेयले पार्टी मिलाउन प्रयत्न गर्दै आए। यस्तो प्रयास २०७९ फागुनसम्म पनि जारी राखेको उनले बताए। ‘ओलीले नेपाललाई राष्ट्रपति बनाउन सघाउँछन् कि भनेर पनि प्रस्ताव गरेँ। तर सफल भइनँ’, पाण्डेयले भने।

राष्ट्रपतीय निर्वाचनअघि पाण्डेय नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर ओली निवास पुगेका थिए। पाण्डेय फर्कंदा आफू निराश हुनुपरेको बताउँछन्। पछि ओलीले नेपाललाई राष्ट्रपति पदका लागि प्रस्ताव गरेका थिए। तर त्यति बेला समय निकै अघि बढिसकेको पाण्डेय बताउँछन्। ‘प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रक्रिया अघि बढाएपछि मात्रै ओली नेपाललाई बनाउन अघि बढे। प्रचण्डले उता साथ दिने भएपछि विष्णु पौडेलहरू यता प्रस्ताव लिएर आएका थिए। तर ढिला भइसकेको थियो।’

प्रचण्डले ‘नेकपा ब्युँताउने’ भए नेपाललाई राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखे। त्यसपछि पाण्डेयले नेपालसँग कुरा गरे। नेपाल प्रचण्डसँग त्यही प्रस्तावबारे छलफल गर्न सक्रिय भए। पाण्डेय भने ओलीसँग कुरा गर्न हिँडे। ‘म र किसान श्रेष्ठ (कृष्ण) एमाले पार्टी कार्यालय च्यासल गएका थियौँ,’ पाण्डेय भन्छन्, ‘त्यहाँ शंकर पोखरेल, विष्णु रिमाललगायतका नेता थिए। मैले विशेष प्रस्ताव भन्दै नेकपा ब्युँताउन भनेँ। तर ओलीले केही समय सोचेर हुन्न भन्नुभयो।’ त्यसपछि नेपाल-प्रचण्ड अर्को बाटो लागे। पाण्डेय तत्काल पार्टी एकता हुने सम्भावनासमेत देख्दैनन्।

माधव नेपालको सम्धी हुनुको ‘घाटा’

तलैदेखि राजनीतिमा सक्रिय भएर अनुभव र योग्यताले खारिएका नेता पाण्डेय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धी हुन्। नेपालकी छोरी पाण्डेयका छोराले बिहे गरेका छन्। त्यसैले एमालेमा रहँदा होस् वा एकीकृत समाजवादीमा रहँदा होस् पाण्डेयलाई ‘नेपालको सम्धी भएकै कारण शक्तिमा पुगेको’ आरोप लाग्ने गर्छ। तर यसमा उनी असहमत छन्। ‘कम्युनिस्ट आन्दोलनमा मेरो आफ्नै योगदान छ, मलाई कुनै अध्यक्ष नेपालको सम्धी भनेर जोड्नु बेतुकको तर्क हो’, पाण्डेय भन्छन्।

पाण्डेय आफूले पहिलादेखि नै ‘ग्रासरुट’ मा गएर राजनीति गरेको सुनाउँछन्। उनी एकीकृत समाजवादीको स्थायी कमिटीमा छन्। उनीभन्दा ‘जुनियर’ पदाधिकारी बनिसके। रामकुमारी झाँक्री, राजेन्द्र राईलगायतका नेता पाण्डेयभन्दा पछाडिका हुन्। पाण्डेय भन्छन्, ‘पद पाउनु ठूलो होइन, पदमा बसेर केकति काम गर्न सकियो, त्यो महत्त्वपूर्ण कुरा हो।’

पाण्डेय राजनीतिसँगै व्यवसाय गर्थे। गाडी व्यवसाय थियो उनको। राजनीतिमा सक्रियता बढाएपछि व्यापार छाड्नुपरेको उनी बताउँछन्। उनी भन्छन्, ‘सांसद भएपछि म व्यापारमा लागिनँ।’

पाण्डेयका दुई छोरा र एक छोरी हुन्। उनका कान्छा छोरा पनि गाडी व्यवसायी हुन्। साथै प्राध्यापन गर्छन्। जेठो छोरा चिकित्सक हुन्। छोरीले पनि स्वदेशमै व्यवसाय गरिरहेको उनी बताउँछन्। ‘मेरा छोराछोरीहरू सबै यतै छन्’, पाण्डेयले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast