पहिलोपटक महिला नेतृत्वमा परराष्ट्र मन्त्रालयको स्थायी संयन्त्र

हिमाल प्रेस २२ मंसिर २०८० १७:४३
676
SHARES
पहिलोपटक महिला नेतृत्वमा परराष्ट्र मन्त्रालयको स्थायी संयन्त्र परराष्ट्र सचिव सेवा लम्साल।

काठमाडौँ- परराष्ट्र मन्त्रालयले उच्च प्रशासनिक तहमा पहिलोपटक महिला पाएको छ। मन्त्रालयकी उच्च अधिकृत सेवा लम्सालले बुधबारदेखि निमित्त परराष्ट्र सचिवका रूपमा जिम्मेवारी पाएकी हुन्। लम्साललाई निमित्तबाट सचिव बनाउने प्रक्रिया अघि बढिसकेको छ। उनी परराष्ट्रबाट राजदूत हुने तेस्रो महिला पनि हुन्।

पहिलो महिला राजदूत भने विन्देश्वरी शाह हुन्। शाह परराष्ट्र सेवाबाट राजदूत बनेकी थिइन्। उनलाई पञ्चायत सरकारले २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। बहुदलीय व्यवस्था स्थापना भएपछि उनी फर्किइन्। ३० वर्षे सेवा गरेका कर्मचारीलाई हटाउने नीतिले शाहले अवकाश पाएकी थिइन्।

२०१६ सालमा खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृतका रूपमा परराष्ट्र प्रवेश गरेकी शाहलाई राजदूत बन्न २७ वर्ष लागेको थियो। त्यसको २७ वर्षपछि २०४३ मा परराष्ट्रमा अधिकृतका रूपमा छिरेकी थिइन् अम्बिका लुइटेल। उनलाई राजदूत बन्न पनि २७ वर्ष नै लागेको थियो। उनी २०७१ मा फ्रान्सका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्।

लम्सालले चाहेको भए २०७१ सालमा राजदूत बन्न सक्थिन्। उनको नाम देशकै दोस्रो महिला राजदूतका रूपमा चिनिने थियो। उनी आफू भर्खर परराष्ट्र आएको भन्दै न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा उपप्रमुख भएर गइन्। २०७१ सालमा कनिस्ट परराष्ट्र सहसचिव भए पनि लम्सालले न्युयोर्कस्थिन नियोगमा ‘सेकेन्ड पर्सन’ रूपमा काम गर्न रुचाएकी थिइन्। लम्साल न्युयोर्कमा ‘सेकेन्ड पर्सन’ र पाकिस्तानमा राजदूत भइसकेकी कूटनीतिक अधिकारी हुन्।

करिब डेढ दशक परराष्ट्र सेवामा रहेर काम गरेकी लम्सालले मन्त्रालयमा प्रवक्ताको भूमिकामा काम गर्दा कहाँ कसरी सुल्झाउने भनेर सिकेकी छन्। ‘प्रवेशको केही वर्ष सेवाका निकै संघर्षपूर्ण रहे। कतिपय विषयमा अलमल पनि भयो। पासपोर्ट छपाइको चक्करले अत्यासलाग्दो अवस्था थियो। सिक्दै बुझ्दै जाँदा सहज भएको छ। मन्त्रालयको नेतृत्वमा पुग्न पाउँदा गर्व महसुस भएको छ,’ लम्सालले भनिन्, ‘मैले परराष्ट्र सेवामा आएर मुलुकका लागि रातबिहान नभनी काम गरेँ।’ महिला र पुरुषलाई हेर्ने दृष्टि समान हुँदा काममा सहज भएको उनको अनुभव छ। काममा लगनशील र सबैसँग सल्लाह गरेर मात्र निर्णयमा पुग्ने हुनाले पनि उनीमाथि परराष्ट्र मन्त्रालय निकै भर परेको छ। ‘मैले यहाँ जागिरभन्दा पनि मुलुक र मुलुकबासीको कुरामा जोड दिन पाएकी छु’, उनले भनिन्।

२०५५ सालमा सामान्य प्रशासन सेवामा प्रवेश गरेकी लम्साल २०६७ मा परराष्ट्र सेवामा उपसचिवका रूपमा प्रवेश गरेकी थिइन्। लम्सालले परराष्ट्रमा आएको एक वर्षमै परराष्ट्रका पुरानो अधिकृतलाई लोकसेवामा पछि पार्दै सहसचिवमा नाम निकालेकी हुन्। सहसचिव भएपछि उनले कूटनीतिको बहुपक्षीय आयामबारे जानकारी हासिल गरेको उनी बताउँछिन्। न्युयोर्कबाट नेपाल आएर पनि उनी विभिन्न दुईपक्षीय महाशाखामा काम गरिन्।

‘परराष्ट्रमा महिलाको सहभागिता संख्यात्मक र गुणात्मक दुवै हिसाबले अत्यन्त उत्साहजनक छ,’ उनले भनिन्, ‘परराष्ट्रमा महिलाको संख्या बढेपछि अब हराभरा भयो भन्ने हिसाबले बुझिदिने केही मानसिकता पनि छ। त्यसलाई त्याग्नुपर्छ।’ चार वर्ष पाकिस्तानको राजदूत रहेकी लम्साल परराष्ट्रभित्र कुनै विवादमा नपरेकी व्यक्ति हुन्। उनले पाकिस्तानमा रहँदा राम्रै काम गरेको सहकर्मी अधिकारीहरू बताउँछन्। त्यसपछि उनी मन्त्रालयमा आइन् र परराष्ट्र सचिव हुने लाइनमा बसिन्।

मन्त्रालयमा छँदा उनले राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंगठन हेर्ने महाशाखा प्रमुखका रूपमा रहेर काम गरिन्। लम्सालका एक सहकर्मी भन्छन्, ‘कतिपयले उहाँलाई कमजोर पनि भन्छन्। तर उपसचिवमै परराष्ट्र मन्त्रालय आएका भरतराज पौड्याल रिसाएर वा फुलेर बोल्दैमा अब्बल हुने तर उनीभन्दा बढी क्षमतावान् र दुईपक्षीय क्षेत्रमा काम गरेकी सेवा हाँसेर बोल्दैमा कमजोर हुने भन्ने छैन।’ लम्सालले परराष्ट्र प्रवक्ताको भूमिका पनि अब्बल ढंगले चलाएकी थिइन्।

परराष्ट्रमा २१ प्रतिशत महिला अधिकारी

कुनै समय पुरुष कर्मचारीको वर्चस्व रहेको परराष्ट्र सेवामा २१ प्रतिशतभन्दा बढी महिला अधिकारी छन्। तीन सय हाराहारीमा परराष्ट्र कर्मचारी रहेकामा एक सहसचिव, १० उपसचिव, दुई दर्जन अधिकृत र दुई दर्जन नायब सुब्बा तहका कर्मचारी महिला छन्। कतिपय मिसनमा राजदूत नहुँदा कार्यवाहक हुने महिला पनि छन्। क्यानडामा कार्यवाहक राजदूतका रूपमा रोजिना ताम्राकार कार्यरत छिन्।

परराष्ट्र सेवामा महिला सहभागिता बढ्न थालेको चाहिँ २०६७ देखि हो। त्यस वर्ष परराष्ट्र सेवामा प्रवेश गरेका २८ मध्ये १४ जना महिला थिए। तिनै महिला अहिले उपसचिवका रूपमा कार्यरत छन्। कोही भने सहसचिव बन्ने लाइनमा छन्। अधिकांशले मिसन प्रमुखका रूपमा कार्यवाहक भएर चलाइसकेका छन्। उनीहरू अब क्रमैसँग नेतृत्वमा आउनेछन्। ती राजदूत नै कतिपय अधिकारी मन्त्रालयको नेतृत्वमा पनि आउन सक्नेछन्।

२०६४ मा निजामती सेवामा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएपछि महिला प्रवेशको संख्या बढ्न थालेको थियो। तर परराष्ट्रमा भने प्रवेश हुन तीन वर्ष लागेको थियो। तीन वर्षपछि एकैचोटि दर्जनभन्दा बढी महिला अधिकृतको परराष्ट्र सेवामा प्रवेश गरे। सेवाभित्र समावेशीकरण कार्यान्वयनको महत्त्वपूर्ण घटनाका पनि यो प्रवेशलाई लिइन्छ।

परराष्ट्र सेवाका कर्मचारीले कूटनीतिज्ञको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै देशविदेशमा हुने महत्त्वपूर्ण द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय वार्तामा भाग लिन पाउँछन्। साथै विदेशस्थित नियोगमा नियुक्त भएर नेपालका अन्य सरकारी सेवामा भन्दा आकर्षक पारिश्रमिक, भत्ता र सुविधा पाइने भएकाले परराष्ट्र सेवामा  आकर्षण बढ्दो छ।

परराष्ट्रमा प्रवेश पाउन अंग्रेजी भाषा राम्रो लेख्न र बोल्न तथा अन्तर्राष्ट्रिय मामिलाबारे जानकारी हुन आवश्यक मानिन्छ। भाषामा दखल नभएका केही उपसचिव र अधिकृत परराष्ट्रमा बाँकी नै छन्। परराष्ट्र सेवाबाट नियुक्त राजदूतले राम्ररी अंग्रेजी बोल्न जानेको पाइँदैन।

सरकारी सेवामा महिला निकै कम भएको समयमा परराष्ट्रमा कम हुनु स्वाभाविक थियो। पछिल्ला दिनमा परराष्ट्र सेवामा प्रवेश गर्नेको संख्या बढेको छ। सरकारले विदेशमा नेपालका कूटनीतिक नियोगको संख्या बढाउँदै लगेको छ। सोही आधामा परराष्ट्र मन्त्रालयमा पनि कर्मचारी दरबन्दी बढिरहेको छ।

सरकारले कतिपय अनावश्यक स्थानमा दूतावास खोलिदिने र आफ्नालाई बढुवा गर्न दरबन्दी थप्ने काम गर्दै आएको छ। जथाभाबी दूतावास खोल्ने राजनीतिक नेतृत्वको चाहना पूरा हुन नदिई मन्त्रालयलाई नै बलियो बनाउन लम्सालले  भूमिका खेल्न आवश्यक रहेको परराष्ट्रका जानकारहरू बताउँछन्।

प्रकाशित: २२ मंसिर २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast