काठमाडौँ- सरकारले एनसेलको सेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको छ।
मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठककका निर्णयहरु
१. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने।
सदस्यः फणिन्द्र गौतम, सचिव- नेपाल सरकार
सदस्यः रितेशकुमार शाक्य, सहसचिव- अर्थमन्त्रालय
सदस्यः बाबुराम भण्डारी, सहसचिव- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सदस्यः सुजनकुमार काफ्ले, अध्यक्ष- आइक्यान
२. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने।
३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने।