‘टुहुरो भएँ- हिजो बुबा बितेर, अहिले छोराछोरी बिदेसिएर’

हिमाल प्रेस २० मंसिर २०८० २१:४४
8
SHARES
‘टुहुरो भएँ- हिजो बुबा बितेर, अहिले छोराछोरी बिदेसिएर’

गण्डकी- ‘म टुहुरो भएँ, हिजो १४ वर्षको हुँदा बा  बितेर, अहिले छोराछोरी विदेश गएर’ यो भनाइ हो स्याङ्जाको वालिङ नगरपालिका–१४, पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो।  पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताएका हुन्।

उनीजस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित थिए। जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरूप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उनले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दुःखेसो गरे। गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उनको भनाइ छ। वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेको प्रति उनले गुनासो व्यक्त गरे।

वालिङ–१४ देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आएकी थिइन्। गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन पाइने भन्ने थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए।

आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उनले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाइन्। समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उनको भनाइ छ। ‘अब कुरा होइन बाटो र पानी दिनूस्,’ उनले भनिन्। उनका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन। साथै वर्षौंदेखि खानेपानीको अभावमा दैनिकी कष्टकर बनेको छ। रासस

प्रकाशित: २० मंसिर २०८० २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast