सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोक तेक्वान्दो संघले आज (बुधबार) आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले खेलकुदमार्फत नेपाललाई विश्वसामु चिनाउने र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुर्याउने उल्लेख गरे।
सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कारबापतको रकम समयमै उपलब्ध गराउने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र यस क्षेत्रको भविष्य उज्वल रहने बताए। राम्रा खेलाडीले विभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै उनीहरूको विकास हुने विश्वास व्यक्त गरे।
पैसाकै अभावका कारण उपचार नपाएर कसैको ज्यान जान गुमाउनुपर्ने अवस्था अब नरहने भन्दै मन्त्री बस्नेतले खेलाडीको स्वास्थ्योपचारमा सरकारले सदैव सहयोग गर्ने बताए। रासस