प्रहरीले गर्‍यो मित्रमिलन सहकारीका पीडितबाट उजुरी आह्वान

हिमाल प्रेस १९ मंसिर २०८० १९:१६
18
SHARES
प्रहरीले गर्‍यो मित्रमिलन सहकारीका पीडितबाट उजुरी आह्वान

पोखरा- पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो।

पोखरा-९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संथा लि.का सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना गरेको प्रकरणले सहकारी क्षेत्रमा नयाँ तरंग छाएको छ। २६ करोडभन्दा बढी रुपैयाँ ठगी गरी फरार रहेको बचतकर्ताको दाबी छ।

प्रहरीले हालसम्म प्राप्त उजुरी आधारमा जिल्ला अदालतको अनुमतिमा सहकारीका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमितिका सदस्यसमेत गरी करिब ३० जनालाई पक्राउ पुर्जी काटी खोजबिन थालेको छ। सहकारी ठगी प्रकरणमा जनप्रतिनिधि, पत्रकार र वकिलसमेत मुछिएका छन्।

प्रहरीले यसअघि नै सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामले बताए। उनका अनुसार सहकारी ठगी मुद्दामा हालसम्म ६ जनाले उजुरी दिएका छन्। अन्य कैयौं व्यक्तिहरू पनि पीडित भएको भन्दै प्रहरीले यही मंसिर २७ सम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ। त्यसका लागि बचतकर्ताले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम ऐन शीर्षकमा जाहेरी दरखास्त दिन भनिएको छ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरू उपर छानबिनमा सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य भेटिएको थियो।

प्रकाशित: १९ मंसिर २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast