मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

हिमाल प्रेस १९ मंसिर २०८० ७:५०
2
SHARE
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौँ- मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ।

चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुंगो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०-१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी तत्काल नल्याउने बताए। चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उनको भनाइ छ।

प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपैयाँ भारु छ। ‘त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नुपर्छ। भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ। आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,’ उनले थपे।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै चुलिएको छ। साल्ट टे«डिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आएको छ।

बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक किलो १२५ रुपैयाँमा किन्नु पर्छ। सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता अभावको मारमा परेका हुन्।

नेपाल खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाही खड्गीले पछिल्ला दिनमा खुद्रा पसलमा चिनी बिक्री गर्न छोडेको जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेसन र चिनी उद्योगीले बजारमा चिनी नपठाएको दाबी गर्दै उनले भने, ‘चिनी उद्योगीसँग चिनी नभएर हो कि पाइँदैन त्यसैले खुद्रावालाले चिनी बिक्री गर्न छोडेका छौँ।’

चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आफूहरूको गोदाममा चिनी मौज्दात सीमित रहेकाले कर्पोरेसनको बिक्री केन्द्रबाट दुई केजी ग्राहकलाई दिनेबाहेक पसलका लागि बिक्री गर्ने चिनी नभएको कर्पोरेसनका निर्देशक व्रजेश झाले बताए।

उनका अनुसार कर्पोरेसनले एभरेस्ट सुगर मिलसँग भएको सम्झौताभन्दा निकै कम आएकाले त्यो पनि सकिएको छ। भारतबाट तत्काल चिनी खरिदको उपाय नदेखिएको कर्पोरेसनले जनाएको छ।

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउनका लागि छलफल भइरहेको जनाएको छ। नेपालका छवटा चिनी मिलले यही सातादेखि चिनी उत्पादन गर्न थालेका छन् तर त्यो चिनी बजारमा आए वा नआएकोबारे रिपोर्टिङ लिने काम भइरहेको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

उनका अनुसार उखुको न्यूनतम मूल्य तोकेपछि उद्योगीबाट उत्पादित चिनी बजारमा आउने हो तर कृषि तथा पशुपन्छी मन्त्रालयले उखुको मूल्य तोकेको छैन त्यसैले पनि बजारमा नपठाएको हो कि भन्ने अनुमान मन्त्रालयले गरेको छ।

नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी खपत हुन्छ। जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नुपर्ने अवस्था छ तर यस वर्ष भारतले चिनीमा बढाएको करका कारण बजारमा पर्याप्त मात्रामा आयात हुन सकेन भने स्वदेशी उद्योगीले पनि बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरे।

जसका कारण गत असारमा ९० रुपियाँ प्रतिकेजीमा पाइने चिनीको मूल्य ठूला चाडपर्वमा १६० रुपियाँसम्म पुगेको थियो। गोरखापत्र दैनिक

प्रकाशित: १९ मंसिर २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =