यूएसएआईडीको सहयोगमा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरू

हिमाल प्रेस १७ मंसिर २०८० १५:५१
4
SHARES
यूएसएआईडीको सहयोगमा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरू

काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरिएको छ।

यो कार्यक्रम नयाँ सङ्क्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि सुरू गरिएको हो। कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबीचको अन्तर्निर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि ‘ओन हेल्थ’ (एउटै स्वास्थ्य) मार्फत गरिने छ।

स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउने छ।

कोभिड–१९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रमा पु¥याउन सक्ने हानीका बारेमा कडा चेतावनी थियो। उक्त महामारीले स्वास्थ्यसम्बन्धी खतरा अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णतः साकार पार्न विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको छ।

यूएसएआईडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनुअगावै तिनलाई रोक्ने, पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नुका साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकून् भन्ने ध्येयले विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाइरहेको छ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘ओन हेल्थ’ प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन यूएसएआईडीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोष उपलब्ध गराउने छ। यूएसएआईडीले संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्नेछ।

विश्व स्वास्थ्य संगठनमार्फत यूएसएआईडीले विशेषतः नयाँ सङ्क्रामक रोगको निगरानीलाई सुदृढीकरण गर्ने, नयाँ सङ्क्रामक रोग र एन्टिमाइक्रोबियल प्रतिरोध पत्ता लगाउन राष्ट्रिय प्रयोगशाला प्रणालीको सुधार गर्ने र सङ्क्रामक रोगसम्बन्धी स्वास्थ्य आकस्मिकता व्यवस्थापन प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने कार्यलाई सहयोग गर्नेछ।

यूएसएआईडीले खाद्य तथा कृषि संगठनमार्फत पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सुदृढ पार्ने, पशुजन्य रोगको निगरानीलाई मजबुत बनाउने र नेपालमा जैविक सुरक्षालाई सुधार गर्ने कार्यलाई सहयोग गर्नेछ। यी कार्यका निम्ति आगामी तीन वर्षमा यूएसएआईडीले करिब ८९ करोड रुपैयाँसम्मको कुल रकम उपलब्ध गराउनेछ, जुन रकम कोषको उपलब्धतामा निर्भर हुनेछ।

नेपालमा यूएसएआइडी र ‘प्यान्डेमिक फन्ड’ (महामारी कोष) बाट सहायताप्राप्त क्रियाकलापलगायत विश्व स्वास्थ्य सुरक्षाअन्तर्गतका सम्पूर्ण क्रियाकलापहरू नेपालले नेतृत्वप्राप्त मौजुदा ‘ओन हेल्थ’ समन्वय प्लेटफर्महरूमार्फत निकट रूपमा समन्वित हुनेछन् र तिनले सरकारका सबै तहमा काम गर्नेछन्।

काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भने, ‘यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्तवपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

प्रकाशित: १७ मंसिर २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =