हिमालय एयरलाइन्सले थाल्यो काठमाडौँ-सांघाई उडान

हिमाल प्रेस १६ मंसिर २०८० ११:५३
10
SHARES
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौँ-सांघाई उडान

काठमाडौँ- हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो। उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

‍काठमाडौँ–सांघाई उडान ५ घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ। सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ।

‍उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौँ–सांघाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए।

सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो। करिब ४० मिलियन जनसंख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको राजधानीका रूपमा पनि कहलिएको छ। यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ।

प्रकाशित: १६ मंसिर २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =