स्याङ्जा- गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
गल्याङभित्रका ११ वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्।
‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हौँ’,उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ।’
छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिएको उनले बताइन्।
बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैठाैँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो।
नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन। छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनले बताइन्।

                                             
                                             
                                             
                                             

