वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

हिमाल प्रेस २६ मंसिर २०८० १६:३५ | Tuesday, December 12, 2023
वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

काठमाडौँ- पर्साको वीरगन्ज महानगरपालिकाको कार्यालयमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको छ। कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो। मेयर राजेशमान सिंहको कार्यकक्ष केही दिन अगाडि महानगर परिसरको दक्षिणपट्टिको भवनमा सरेको थियो। मेयर अर्को भवनमा सरेपछि खाली भएको कोठालाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेलको कार्यकक्ष बनाइयो।

त्यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष उपमेयर इम्तियाज आलमको कार्यकक्षसँगै थियो। प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन्।

ती कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए। उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरू व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए।

उपमेयर आलमले भने उक्त कोठाले आफूले प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन्। आफूले प्रयोग गर्ने भनेको कोठा अर्कै प्रयोजनका लागि प्रयोग हुन थालेको भन्दै उपमेयर आलमले आफ्ना समर्थक नै बोलाएर अवरोध गरेका थिए। उपमेयरले आफ्ना समर्थक बोलाएपछि मेयरका समर्थक समेत महानगरपालिका कार्यालयमा पुगेका थिए।

दुवै पक्षका समर्थकबीच कार्यालयमै कुटाकुट भएको हो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन्।

प्रकाशित: २६ मंसिर २०८० १६:३५ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast