राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

हिमाल प्रेस १५ पुष २०८० १४:४९ | Sunday, December 31, 2023
राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।  ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए। ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ’, उनले भने, ‘उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौँ। सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ।’

यो बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने भएक छ। ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान दिएर छुटेका नेताहरू र समुदाय तथा भूगोल मिलाएर उम्मेदवार उठाउँछौँ’, उनले भने।

विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए। ‘संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति वफादार स्वच्छ छविका, अवसरबाट बञ्चित र योग्यहरूलाई अवसर दिन्छौँ,’ विश्वकर्माले भने।

शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ।   । बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अनेक प्रयासका बावजुद सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए।

‘लोकतन्त्रको अर्को परिभाषा पारदर्शिता र सुशासन हो। सरकारको सकारात्मक प्रयासका बावजुद पनि यस विषयमा आमजनता विश्वस्त हुन सकेको पाइँदैन’, कांग्रेसले भनेको छ, ‘सरकारबाट प्रदान गरिने सेवा जति शुलभ ढंगले जनताले प्राप्त गर्न सक्छन्, त्यति नै सुशासनको अनुभूति बढ्दै जान्छ। जति फराकिलो मात्रामा सुशासनको सन्देश फैलिन्छ, त्यति नै लोकतान्त्रिक प्रणालीको दिगो विकास हुने भएकोले शान्ति, सुव्यवस्थाको प्रत्याभूतिसँगै सुशासनका लागि प्रभावकारी नीति अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गर्ने।’

प्रकाशित: १५ पुष २०८० १४:४९ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast