राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन माग

हिमाल प्रेस १५ पुष २०८० १५:५१ | Sunday, December 31, 2023
राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन माग

पोखरा- नेपाल मुस्लिम संघको गण्डकी प्रदेश भेला सम्पन्न भएको छ। नेपाली कांग्रेसको भातृ संस्था संघको शनिबार प्रदेश स्तरीय दोस्रो भेला पाेखरामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि कांग्रेस सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब कुरा गर्ने नभई काम गरेर देखाउनुपर्ने समय आएकाे बताए। नेपाल समृद्ध बनाउने सपना साकार बनाउन सबै इमान्दार भएर लाग्नुपर्ने उनकाे भनाइ छ।

‘अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउने बेला आएकाे छ’ उनले भने ‘हामी दलिय स्वार्थ त्यागेर इमान्दार भएर लागे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिन्छ।’ उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए।

नेता कार्कीले नेपालमा मुस्लिम समुदायले प्रस्तुत गरेकाे इमान र विश्वास सम्मान गर्न लायक रहेकाे बताए। राज्यका हरेक तह र तप्काबाट पाउने अवसर र अधिकारबाट मुस्लिम समुदाय ठगिँदै आएकाे स्वीकार गर्दै उनले आगामी दिनमा त्यसलाई सच्याएर अघि बढ्नुपर्ने तर्क गरे। संविधानले दिएकाे अधिकार जनताले महसुस गर्ने गरी दिन जरुरी रहेकाे समेत उनले बताए।

आगामी राष्ट्रिय सभाकाे निर्वाचनकाे उम्मेदवार छनाेटकाे प्रसङ्ग निकाल्दै कार्कीले नेपाली कांग्रेसले भुगाेल, समुदाय, याेगदान सबैकाे कदर हुने गरी उम्मेदवार बनाउने आश्वासन समेत दिए। कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेसका अर्का केन्द्रीय सदस्य अब्दुल सत्तारले राष्ट्रको मुल धारमा अझैपनि मुस्लिम समुदायको प्रतिनिधित्वको अवस्था कमजोर रहेको र संविधानले तोकेको अधिकार दिन समेत राज्यले कन्जुस्याँई गरिरहेको दुखेसो गरे।

‘नेपालका मस्लिम समुदायले कहिलेसम्म अधिकारका लागि तड्पिनुपर्ने हो ?’ संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तारले भने ‘संविधानले अधिकार त तोकेको छ, तर समुदायले महसुस कहिले गर्न पाउने ?’ मुस्लिम लगायत पछाडी परेका र पारिएका समुदायको अधिकार स्थापित गराउन कांग्रेसको योगदान स्मरण गर्दै सत्तारले संविधानको सफल कार्यान्वयनका लागि पनि कांग्रेसले नै नेतृत्व लिनुपर्ने तर्क गरे।

त्यस्तै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलाहरू पनि राजनीतिक क्षेत्रमा अगाडि आउन जरुरी रहेकाे बताइन्।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अताबुल मन्सुरीले आगामी राष्ट्रिय सभा निर्वाचनमा मुस्लिम समुदायबाट कम्तिमा एक जना सदस्य ग्यारेन्टी गर्न नेपाली कांग्रेससंग माग गरेका छन्। ‘पार्टीकाे संगठन मजबुत बनाउन हामीले देशैभर काम गरेका छाै, १४ लाख मुस्लिम समुदायमध्ये ६० प्रतिशतभन्दा बढी भाेट रुखमा हाल्ने वातावरण बनाएका छाै’ अध्यक्ष मन्सुरीकाे प्रश्न छ ‘तर हाम्राे योगदानकाे मुल्यांकन किन हुँदैन ? अवसरबाट मुस्लिम समुदाय कहिलेसम्म बञ्चित हुनुपर्ने ?

कार्यक्रमलाई सम्बाेधन गर्दै संघका उपाध्यक्ष नुरमाेहम्मद मियाँ, जब्बारदिन मियाँ, सकिना मियाँ, सचिव रहमतुल्ला मियाँ, सराफत अली, रहिम मियाँ लगायतले समेत मुस्लिम समुदाय राज्यबाट पाउने अवसरबाट बञ्चित भइरहेकाे बताएका थिए। उनिहरूले कांग्रेसले मुस्लिम लगायतकाे अधिकार सुनिश्चित गर्न पहलकदमी लिनुपर्नेमा जाेड दिए।

भेलाको अवसरका मुस्लिम संघले गण्डकी प्रदेशभरबाट गत बर्षकाे एसईई परिक्षामा उत्कृत्ट अंकसहित उत्तिर्ण हुने डेढ सय भन्दा बढी मुस्लिम विधार्थी तथा संघका तेस्राे महाधिवेशनबाट प्रदेशबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सम्मान समेत गरेकाे थियाे।

संघको गण्डकी प्रदेश समितिद्धारा आयोजित भेलामा कास्की, स्याङ्जा, म्याग्दी, गोरखा, तनहुँ, लमजुङ, बागलुङ लगायतका मुस्लिम बसोबास रहेका जिल्लाहरूबाट गरी करिब ६ सय भन्दा बढीको सहभागिता रहेको थियो। संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँको अध्यक्षतामा भएको हो।

प्रकाशित: १५ पुष २०८० १५:५१ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast