रवि लामिछानेको आरोप : गृहमन्त्रीले नै सुन तस्करीको संरक्षण गरे

हिमाल प्रेस ९ पुष २०८० १४:५८ | Monday, December 25, 2023
रवि लामिछानेको आरोप : गृहमन्त्रीले नै सुन तस्करीको संरक्षण गरे रास्वपा सभापति रवि लामिछाने। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरेको आरोप लगाएका छन्। सोमबार चितवनका नारायणगढमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले सुन तस्करहरुको प्रमाण दिँदा पनि कारबाही नगरेर गृहमन्त्री आफैँले तस्करको संरक्षण गरेको आरोप लगाएका हुन्।

उनले सुन तस्करीको प्रमाण आफूले सिंहदरबारस्थित गृहमन्त्रीकै क्याबिनमा पुगेर देखाएको दाबीसमेत गरे। त्यस्तै, सभापति लामिछानेले एक सहकारीसँग आफूलाई जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको पनि दाबी गरेका छन्। उनले सहकारी र ग्यालेक्सी टेलिभिजनबारे आएको समाचार पूर्वाग्रहपूर्ण भएको बताए।

लामिछाने ग्यालेक्सी टेलिभिजनमै रहँदाका बखत सूर्यदर्शन सहकारीबाट रवि लामिछानेका नाममा पनि एक करोड रकम पेस्की गएको र त्यो फिर्ता नभएको भन्ने समाचारहरू बाहिरिएका छन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणगढबाट बुटवलसम्म पैदलयात्रा सुरु गरेको छ। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले आजदेखि दबाबमूलक पैदलयात्रा सुरु गरेको हो।

‘रास्वपाको दबाबयात्रा’ नाम दिइएको पैदलयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सुरु भएको हो। ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गरिने रास्वपाले जनाएको छ। यात्रामा सभापति लामिछानेसहितका नेता र सांसदहरू सहभागी छन्।

प्रकाशित: ९ पुष २०८० १४:५८ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast