पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित देशमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन्।
‘युवाहरूको भविष्य यहि देशमा सुरक्षित छ र उनीहरूका सन्ततीको भविष्य यहि देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु’, नेता चौधरीले भने, ‘मलाई लाग्छ, हाम्रो जिम्मेवारी यहि नै हो। र, यो संकल्प पुरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ।’
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेको बताए।
‘आज बेरोजगार युवामात्र होइन, राम्रो रोजगारीमा रहेका युवाहरू पनि जागिर छाडेर धमाधम विदेश गइरहेका छन्। जबसम्म हामीले उनीहरू र उनीहरूका सन्ततीको भविष्य यहि देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्न सक्दैनौँ यो प्रकृया जारी रहनेछ’, नेता चौधरीले भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपाली कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिन सक्छ भनेर हामीले प्रमाणित गर्नु परेको छ। र, त्यो जिम्मेवारी पूरा गर्न हामी सक्षम छौँ भन्ने सन्देश पोखराबाट दिन चाहान्छु।’
नेपालको आर्थिक सुधारको नेतृत्व विगतमा नेपाली कांग्रेसले लिएको स्मरण गराउँदै नेता चौधरीले भने, अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्वलिनु पर्ने समय आएको छ। पार्टीले यो दिशामा वृहत गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ।’
आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको राजनीतिलाई प्राथमिकता राखेको बताउँदै आएका नेता चौधरीले यी विषयलाई गम्भीर रुपमाआत्मसात् गर्दै कांग्रेसले आफूलाई नयाँ पुस्ताले भर पर्न सक्ने पार्टीका रुपमा उभ्याउनु पर्ने धारणा पनि व्यक्त गरे। ‘आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलो पटक मतदाताका रुपमा भोट गर्नेछन्। उनीहरूको पहिलो रोजाइ कांग्रेस बन्ने गरी अहिलेदेखि नै काम गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपालको १० बर्षको आर्थिक विकासको रोडम्याप के हो ? हामीले नयाँ पुस्तालाई तिम्रो भविष्य यहि देशमा सुरक्षित भनेर देखाउने आधार के हुन् ? यी विषयमा अब हामीअलमलमा रहनु हुदैन।’, नेता चौधरीले भने, ‘हामीसँगआर्थिक विकासको प्रष्ट रोडम्याप हुनुपर्छ। राजनीतिको अबको एजेण्डा नेपाललाई विकसित देशमा पुर्याउने नै हुनुपर्छ। त्यसकालागिनीति, कार्यक्रम र कार्यान्वयन प्रणालीमा समेत गृहकार्य गर्न जरूरी छ। मलाई विश्वास छ, पार्टी नेतृत्व र समग्र पार्टी पंक्ति अब यहि दिशामा केन्द्रित बनेर युवाहरूको आकांक्षालाई सम्बोधन गरिनेछ।’
नेपाली कांग्रेसले अवलम्बन गर्ने आर्थिक विकासको दृृष्टिकोणले नै पार्टी संगठन र युवाहरूलाई आकर्षित गर्ने भएकाले गण्डकी प्रदेश सम्मेलनले यस दिशामा गम्भीर निर्णय गर्नेछ भन्ने विश्वास पनि नेता चौधरीले व्यक्त गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुँदा खुसी लागेको उल्लेख गर्दै नेता चौधरीले विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको उल्लेख गर्दै पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्नका लागि गम्भीर भएर लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए। नेता चौधरी पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।





