फाइल तस्बिर
                                            तनहुँ- मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ।
यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए।
केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ।
सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए। उनी भन्छन्,‘पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ। त्यही अनुसार अहिले काम भइरहेको।’
उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन्। त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ।
सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ। यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ।
जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

