मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन आधा घट्यो

हिमाल प्रेस १० पुष २०८० १३:१२ | Tuesday, December 26, 2023
मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन आधा घट्यो

काठमाडौँ– लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब आधाले घटेको छ। मर्स्याङ्दी नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाका अनुसार विद्युत् गृहलाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो। मंसिरको सुरुवातदेखि नै विद्युत् उत्पादन घट्न थालेको थियो।

फागुनसम्म बिजुली उत्पादन घट्दै जाने आयोजना कार्यालयले जनाएको छ। मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

लमजुङमा भएका अन्य जलविद्युतको उत्पादन पनि घटेको छ। पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ।

यस्तै ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युतको उत्पादन पनि झण्डै आधाले घटेको छ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु तथा २ मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली उत्पादन क्षमताभन्दा कम छ।

हिउँदयाम सुरु भएसँगै नेपालका सबै जलविद्युत् गृहबाट आधा जति मात्रै विद्युत् उत्पादन हुन थालेको छ। योसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली आयात सुरु गरेको छ।

प्रकाशित: १० पुष २०८० १३:१२ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast