काठमाडौँ- संगठन निर्माणमा कमजोर र असफल प्रयोगका कारण राजनीतिको मूलधारबाट किनारीकृत हुँदै गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको सक्रियता चाहिँ घटेको छैन।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराई संगठन बनाउने, जनपरिचालन गर्ने, जनताका मुद्दा उठाउने उद्देश्यका साथ पार्टी गतिविधिमा सक्रिय देखिन्छन्।
विशिष्ट परिस्थिति आएमा कार्यकारी जिम्मेवारी लिनसमेत तयार देखिएका भट्टराईको अबको राजनीति भने उनी अनुकूल देखिँदैन। त्यसैले कुनै बेलाका सहकर्मी पनि डा.भट्टराईलाई राजनीतिबाट अलग हुन सुझाव दिन्छन्।
कुनै विज्ञ पद वा विचारका रूपमा प्रस्तुत भएमा भट्टराईको प्रतिष्ठा थप बलियो हुने उनीहरूको बुझाइ छ। भट्टराई भन्छन्,‘कार्यकारी अधिकार लिनका लागि सधैँ आफू मात्रै नेतृत्व गर्छु भन्नुभन्दा पार्टीमा सक्रिय हुने, संगठन बनाउने, जनपरिचालन गर्ने, जनताका मुद्दा उठाउने जस्ता काम पनि सक्रिय राजनीति हो।’
नेसपाबाटै निर्वाचित भएर कार्यकारी प्रधानमन्त्री भट्टराईलाई त्यति सजिलो छैन। त्योभन्दा माथिल्लो पद भनेको राष्ट्रपति हो। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन निकै योगदान गरेका भट्टराईलाई पार्टी कार्यालय चलाउनुपर्छ, कार्यकर्ताहरूको गुनासो सुन्नुपर्छ भन्नेमा त्यति हेक्का नरहेको उनकै गतिविधिले प्रस्ट पार्छन्।
भट्टराई झन्डै एक दशकदेखि वैकल्पिक राजनीतिको वकालत गरिहेका छन्। तर उनी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभ्यासमा असफल भइसकेका छन्। २०७२ यताको उनको राजनीतिक गतिविधिले त्यही स्पष्ट पार्छ।
लामो समयदेखि भट्टराईको राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेका विश्लेषक नरेन्द्रजंग पिटर एउटा वैकल्पिक शक्ति आवश्यक भए पनि त्यसको अगुवाइ भट्टराईले गर्न नसक्ने बताउँछन्।
भट्टराईको वैकल्पिक भाष्य अपहरण भइसकेको पिटरले बताए। ‘बाबुरामको वैकल्पिक नारालाई रवि लामिछानेहरूले अपहरण गरे। सुदूरपश्चिममा रेशम चौधरी र मधेशमा सीके राउतले लगे। उनीहरूका कारण बाबुरामको वैकल्पिक एजेन्डा पछाडि परिसकेको छ।’
भट्टराई भने वैकल्पिक भनेर उदाएका पार्टीलाई वैकल्पिक मान्न तयार छैनन्। रवि लामिछाने, सीके राउत, रेशम चौधरी नेतृत्वको पार्टीको एजेन्डा प्रस्ट नभएको उनी बताउँछन्। भट्टराईको बुझाइमा कम्युनिस्ट दलहरू मिलेर समाजवादीमा रूपान्तरण हुनुको विकल्प छैन। उनी भन्छन्, ‘मलाई कत्ति पनि भ्रम छैन। सबै आएर अँगालो हालेर रोए पनि नेपालमा अर्को वैकल्पिक शक्ति बन्दैन। त्यसैले यी सबैले आफूलाई समाजवादी रूपान्तरण गर्नैपर्छ।’
भट्टराईको वैकल्पिक शक्ति निर्माण प्रयास : कति सफल कति असफल?
माओवादीमा रहेकै बेला वैकल्पिक शक्ति निर्माणको वकालत गरेका भट्टराई संविधान जारी भएपछि २०७२ असोज ९ गते पार्टीबाट अलग भए। उनको संयोजकत्वमा २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा भयो। भट्टराईले ‘अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ जस्ता नारा अघि सारे।
भट्टराईले त्यति बेला राजनीतिक वृत्तमा भएका प्रगतिशील र केही बौद्धिक व्यक्तिलाई समेटेर नयाँ ढाँचाको दल बनाएका थिए। तिनमा केही आफ्ना पूर्वसहकर्मी थिए। जनताले नयाँ सोच र दृष्टिकोणसहितको पार्टी खोजिरहेका बेला भट्टराईका गतिविधिप्रति धेरैले चासो दिएकै हुन्। पार्टी गठन भएको साढे दुई वर्षपछि आमनिर्वाचन भयो। २०७४ सालको चुनावमा नयाँ शक्तिलाई जनताले पत्याएनन्।
अर्थमन्त्री र प्रधानमन्त्री भइसकेका व्यक्तिको नाराले जनताको अवस्था परिवर्तन गराउने धेरैको विश्वास थियो। त्यसमा पनि बौद्धिक नेता भट्टराईको त्यो कदमलाई धेरैले सकारात्मक लिए। विचारमा अग्रगामी तर संगठन निर्माणमा फितला भट्टराईको वैकल्पिक राजनीतिले गति लिन सकेन।
मुलुकको व्यवस्था परिवर्तन भएर अवस्था परिवर्तनमा जाँदैछौँ भन्ने विचार र दृष्टिकोण राखे संगठनलाई भने परिवर्तन गर्न सकेनन्। संगठन नयाँ ढाँचा र संरचनामा लैजान सक्ने व्यक्ति वा पात्र चयन गर्न असफल भए।
भट्टराईले विचार अभिव्यक्त गरेपछि पार्टी स्वतः बन्छ भन्ने ठाने। भट्टराईसँग जोडिएका मानिसहरू अन्य पार्टीका भन्दा विचार, दृष्टिकोण, शैलीमा फरक थिए। ती मानिसलाई उनले टिकाउन सकेनन्। सांगठनिक पात्रलाई छान्न र जिम्मेवारी दिन चुके। यद्यपि उनले नयाँ प्रयोग भने जारी राखे।
भट्टराईको अगुवाइमा २०७५ साल माघमा पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म ‘असल राजनीति र समावेशी विकासका लागि’ नारासहित जनसंवाद यात्रा भएको थियो। यसको उद्देश्य देशको समग्र अवस्था र संघीयताबारे धारणा बुझ्नु थियो।
जनताले भट्टराईलाई राजनीतिको मूलधारमा आउन सुझाव दिए। उनले त्यसलाई चासो दिएनन्। यात्राको समीक्षापछि सोच, संस्कार र पद्धतिमा नयाँपन भएको पार्टीको आकार ठूलो बनाउनुपर्ने निष्कर्ष उनको थियो। तर नयाँ शक्ति ‘शक्तिका रूपमा’ रहेन। उनी आफैँ अन्यत्र विलय भए। त्यो पनि सत्ता र शक्तिसँग सधैँ नजिक रहनुपर्ने मधेश केन्द्रित दलसँग।
भट्टराई जनजाति, मधेश आन्दोलनबाट आएका, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीजस्ता पछिल्लो परिवर्तनसँग सरोकार राख्ने उपेन्द्र यादव, अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारीसँग मिल्न पुगे। देशको कार्यकारी पदमा पुगिसकेका भट्टराई पार्टीको तल्लो वरीयतामा बसेर सक्रिय भए।
हिमाल, पहाड र तराईका नेतालाई जोडेर वैकल्पिक पार्टी बनाउने भट्टराईको अभियान जारी रह्यो। मधेशी नेतासामु उनलाई निकै सकस भयो। भट्टराईले उपेन्द्रसँग लागेर वैकल्पिक पार्टी बन्न नसकिने निष्कर्ष निकाले। वैकल्पिक शक्ति बनाउने भट्टराईको प्रयास दोस्रोपटक चकनाचुर भयो।
भट्टराईले फेरि नयाँ जोखिम उठाए र नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन्। २०७९ को आमचुनावमा उनी प्रतिस्पर्धामा उत्रिएनन्। पार्टीलाई भने माओवादी केन्द्रको चुनाव चिह्नमा लडाए। आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्ड दिए।
देशको राजनीतिमा यउनको पार्टीको उपस्थिति सांकेतिक रूपमा मात्र सीमित छ। संघीय सरकारमा नेसपाका नेता महिन्द्र राय यादव मन्त्री छन्। तर माओवादीको चिह्नबाट चुनाव जितेका यादव माओवादीमै फर्कन खुट्टा उचिलिरहेका छन्।
नयाँ शक्ति कमजोर हुँदै जाँदा भट्टराईले मधेश, पहाड र हिमाललाई जोड्ने एउटा केन्द्रीय सिद्धान्त ल्याएका थिए। सोही सिद्धान्तमा उनले उपेन्द्र यादवसँग पार्टी एकता गरे। एकता लामो समय टिकेन।
पिटर भन्छन्, ‘डा.भट्टराई व्यक्तिको अध्ययन पनि गर्न सक्नुहुँदो रहेनछ। नेपालको राजनीतिमा शक्तिमा पुगिसकेको मानिसलाई प्रजातान्त्रिक अभ्यासबाट लैजान सक्नुहुन्छ। सिद्धान्तले पार्टीहरू चलेका छैनन्। सिद्धान्तहीन राजनीतिमा केन्द्रीकरण हुनसक्छ।’
भट्टराईको राजनीतिक कमजोरी केलाउन माओवादीमै फर्कनुपर्ने हुन्छ। तत्कालीन माओवादीका उपाध्यक्षत्रय भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाबीच २०६८ साउनमा धोबीघाट गठबन्धन बनेको थियो। उक्त गठबन्धनले दाहालको कार्यशैलीको चर्को आलोचना गरेको थियो। धोबीघाट बैठकको आयोजक भट्टराई थिए। त्यो गठबन्धन लामो समय टिक्न सकेन। अहिलेसम्म आइपुग्दा ती सबै नेता तितरबितर भएका छन्।
भट्टराई माओवादीमा रहँदा एकै कित्तामा रहेका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह पनि उनीसँग छैनन्। माओवादी पार्टीका जानकार पिटर धोबीघाट गठबन्धनले भट्टराईलाई प्रधानमन्त्री बनाए पनि पार्टी जोगाउन नसकेको बताउँछन्। भट्टराई २०६८ भदौमा प्रधानमन्त्री बनेका थिए। पिटर भन्छन्, ‘धोबीघाट बैठकले डा। भट्टराईलाई प्रधानमन्त्री त बनायो तर पार्टीलाई जोगाउन सकेन। त्यति बेला प्रचण्ड, मोहन वैद्य किरण र भट्टराई एक भइदिएको भए संविधान माथिल्लो स्तरको बन्न सक्थ्यो। शान्तिप्रक्रियाका बाँकी काम तत्कालै पूरा हुन सक्थ्यो।’
संगठन निर्माणमा भट्टराई कमजोर देखिनु उनको सबैभन्दा ठूलो समस्या आत्मकेन्द्रित बानी बताउँछन् पिटर। उनी भन्छन्, ‘४० सालदेखि मैले डा.साबको राजनीति देखेको छु। उहाँको सबैभन्दा ठूलो समस्या नै आत्मकेन्द्रित सोचाइ हो।’
भट्टराईको स्वभावबारे पिटर एउटा घटना स्मरण गर्छन्,‘प्रचण्ड र डा.साब मेरो घरमा आइरहनुहुन्थ्यो। भट्टराई कोठमा बसेर पढ्नेलेख्ने गर्नुहुन्थ्यो। परिवारबाहेक उहाँको कोहीकसैसँग पनि अन्तरघुलन हुँदैनथ्यो। बुद्धिजीवीहरू नजिक हुन खोज्थे। बुद्धिजीवीलाई कन्भिन्स गरेपछि समाज कन्भिन्स हुन्छ भन्ने भट्टराईलाई लाग्यो। त्यसो भएन। प्रचण्ड भने घरमा आइपुग्नेबित्तिकै आफ्ना कपडा धुनुहुन्थ्यो। भान्छामा गइहाल्नुहुन्थ्यो। बच्चादेखि बूढाबूढीसँग पनि कुरा गर्ने बानी प्रचण्डको थियो। प्रचण्डमा विश्वास पैदा गर्न सक्ने, मार्केटिङ गर्न सक्ने क्षमता छ। भट्टराईको आदर्शवादी स्वभाव छ।’
आदर्शवादी चरित्रकै कारण भट्टराईले संगठन चलाउन नसकेको उनीसँग सात वर्ष सँगै काम गरेका विश्लेषक डम्बर खतिवडा बताउँछन्। उनी भन्छन्, ‘उहाँसँगको सात वर्षको अनुभवबाट मलाई के लाग्छ भने उहाँ आफ्नै नेतृत्वमा पार्टी चलाउन सक्ने मान्छे होइन। उहाँ अध्यक्ष भएर पार्टी बनाउनु बेकार हो। यो कठोर कुरा होला। पार्टी भनेको बौद्धिक विश्लेषण मात्र हुँदैन। पार्टी भनेपछि संगठन हुन्छ, आन्दोलन हुन्छ। अलिअलि व्यवस्थापन गर्नुपर्छ। थोरबहुत पैसा चाहिन्छ।’ जसले गर्दा भट्टराई आफैँ राजनीतिक मूल नेता भएर बलियो पार्टी बनाउने सम्भावना नरहेको खतिवडा बताउँछन्।
नयाँ शक्ति, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीसम्म आइपुग्दा भट्टराईले परिस्थितिको आकलन गर्न नसकेको जानकारहरूको बुझाइ छ। खतिवडा भन्छन्, ‘भट्टराई माओवादीमा किन सफल हुनुभयो भने उहाँ मूल नेता हुनुहुन्थेन। नयाँ शक्तिमा किन सफल हुन सक्नुभएन भने उहाँ आफैँ मूल नेता हुनुहुन्थ्यो।’
भट्टराई निकट एक नेता नीति निर्माणमा लचक र कार्यान्वयनमा कडाइ गर्ने बानीले राजनीतिमा उनी आजको अवस्थामा आइपुगेको बताउँछन्। ती नेता भन्छन्, ‘डा.साब नीति निर्माणमा लचिलो हुनुहुन्छ तर कार्यान्वयनमा कडाइ गर्नुहुन्छ। त्यसले पास भएको नीति पनि कार्यान्वयन हुने सम्भावना कम हुन्छ। यो कारणले गर्दा पनि भट्टराई अहिले यो ठाउँमा आइपुग्नुभएको हो।’
सोही कारण उनी राजनीतिमा भट्टराई असफल मान्छन्। ‘भट्टराईले राजनीतिक अर्थशास्त्र पढाएको भए भिजिटिङ प्रोफेसर बन्न सक्नुहुन्थ्यो तर राजनीति दुरदर्शिता देखिएन, ‘पिटर भन्छन्, ‘उहाँ दर्शनशास्त्री हुन सक्नुभयो। राजनीतिक अर्थशास्त्री हुन सक्नुभयो। राजनीतिक रूपमा दुरगामी विषय उहाँमा देखिएन।’
अबको गन्तव्य
पछिल्लो समय बाबुरामले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टी (नेसपा) र प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रबीच एकताको चर्चा छ। एकतापछि बन्ने पार्टीलाई नै वैकल्पिक धारमा लैजान सकिने बहस पनि नेसपा र माओवादीभित्र छ।
विश्लेषक पिटर भन्छन्, ‘पार्टी परित्याग गर्दा भट्टराईले माओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’ भन्नुभएको थियो। प्रचण्डमाथि ठूला भ्रष्टाचार आरोप लगाउनुभएको थियो। आफैँले अपराधी किटान गरिसकेको मान्छेको नेतृत्वमा कसरी जाने? तर परिस्थितिले धकेलेको छ। उहाँसँग विकल्प छैन।’
भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका माओवादी नेता देवेन्द्र पौडेल आफैँले हुर्काएको पार्टी माओवादीका फर्कनुको विकल्प नभएको बताउँछन्। पौडेल भट्टराईसँग नयाँ शक्ति पार्टीमा पनि केही वर्ष सँगै थिए।
पौडेल भन्छन्,‘भट्टराई आफैँले हुर्काएको पार्टीलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्न माओवादीसँग एकीकरण गरी पुनर्जीवन दिनुभयो भने मात्र इतिहासको रक्षा र भविष्यमा अगाडि बढ्न सकिन्छ।’ माओवादी पनि रूपान्तरण भइसकेको दाबी पौडेलेको छ। उनले थपे, ‘माओवादी पनि पछिल्लो परिवर्तनकारी शक्ति भएको हुँदा भट्टराईले पार्टी एकीकरण गरेर अगाडि बढ्दा कल्याण हुन्छ।’
यद्यपि बाबुराम राजनीतिमा नचाहिने मान्छे भने होइनन्। दोस्रो–तेस्रो तहको नेता भएर आन्दोलनलाई बौद्धिक, वैचारिक, प्रचारात्मक हिसाबले योगदान गर्न सक्ने क्षमता भट्टराईमा छ। तर लेख–अन्तर्वार्तामा उनी कुरा भन्छन्, त्योअनुसारको राजनीतिक ‘स्टेप’ चाल्न सक्दैनन्। वैकल्पिक राजनीतिक पार्टी बनाउँछु भन्छन्, फोरमसँग एकता गर्छन्। एकता गरेपछि त्यसलाई वैकल्पिक राजनीति दलका रूपमा विकास गर्न मेहनत गर्दैनन्। एकता गर्छन्। तीनचार महिनापछि अर्कै बाटोतिर लाग्न खोज्छन्। विश्लेषक खतिवडाले भने, ‘उहाँको राजनीतिको दुर्भाग्य नै भन्नुपर्छ, उहाँको बौद्धिक आत्माले देखेको कुरालाई लेख र अन्तर्वार्तामार्फत व्यक्त गर्नुहुन्छ। तर व्यवहारमा त्योअनुसारको राजनीतिक लय मिलाउन सक्नुहुन्न।’
खतिवडा चाहिँ भट्टराईलाई राजनीतिक संन्यास लिएर बौद्धिक गतिविधिमा सक्रिय हुनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, ‘उहाँ अब राजनीतिक सन्यासमा जानु नै राम्रो हुन्छ। वैचारिकर बौद्धिक काम गरेर बस्नु उपयुक्त हुन्छ। आफ्नै नेतृत्वमा राजनीतिक दल बनाएर कमब्याक गर्न सक्नुहुन्छ भन्ने विश्वास मलाई छैन।’


                                             
                                             
                                             
                                             
                                             

