बसाइँसराइको प्रभाव : ५ लाख बस्नयोग्य घर खाली

हिमाल प्रेस ६ पुष २०८० १५:५९ | Friday, December 22, 2023
बसाइँसराइको प्रभाव : ५ लाख बस्नयोग्य घर खाली म्याग्दीको धाैलागिरि गाउँपालिका–७ काे धारापानी गाउँ । तस्बिर : कमल खत्री/रासस

काठमाडौँ– तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने क्रम तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको संख्या बढी रहेको छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरूको भनाइ छ। विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाहरूले देखाएका छन्। अहिले तराईमा कुल जनसंख्याको ५४ प्रतिशत आवादी रहेको छ। यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ।

‘राष्ट्रिय जनगणना–२०७८’को प्रतिवेदन र विभिन्न स्रोतका आधारमा प्राकृतिक प्रकोप, बेरोजगारी, राजनीतिक अस्थिरतालगायत कारणले बसाइँ सर्नेको संख्या बढेको केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए। उनका अनुसार २०५२ देखि २०६३ सम्ममा बसाइँसराइ कैयौँ गुणा बढेको छ।

सशस्त्र द्वन्द्वको सुरुवाती वर्षमा ३ हजार ६५० मात्र रहेको आन्तरिक बसाइँसराइको संख्या सशस्त्र द्वन्द्वको अन्त्यतिर १ लाख ६५ हजार पुगेको थियो। त्यसपछि पनि आन्तरिक बसाइँसराइको ग्राफ निरन्तर उकालो लागेको छ।

कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी प्राकृतिक प्रकोपको जोखिममा रहेकाले पनि बसाइँसराइ भएको छ। यसबाहेक हावाहुरी, आगलागी र हिमताल फुट्ने डरले थालथलो छोड्न नेपालीलाई बाध्य पार्ने गरेको छ। पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने कारणले कुनैकुनै गाउँमा तीव्ररूपमा पुख्र्यौली गाउँ छोडने प्रवृत्ति बढेको छ। निर्देशक लामिछानेले आर्थिक, सामाजिक, सांस्कृतिक र रोजगारीका विषयलाई समेटेर जनसंख्या व्यवस्थापन नीतिका विषयमा अबको बहस केन्द्रित हुनुपर्ने देखिएको उनको भनाइ छ। ‘जनगणनामा ५ लाख बस्नयोग्य घर खाली रहेको र घर छाडेर गएकाहरू फर्कने सम्भावना कम रहेकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने गरी शिक्षामा लगानी वृद्धि गरी युवा जनशक्तिलाई परिचालन गरी भूगोल अनुकूलका व्यावसायिक कृषितर्फ जोड दिनु अत्यावश्यक भएको छ,’ लामिछानेले भने।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा. डा. योगन्द्र गुरुङले रोजगारी, शिक्षालगायतको खोजी नै बसाइँसराइको प्रमुख कारण भएको बताए।

विभागका सहप्राध्यापक डा. पद्यप्रसाद खतिवडाका अनुसार गरिबी पनि बसाइँसराइको मुख्य कारण हो। बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप भएको डा. खतिवडाको भनाइ छ।

मौसम परिवर्तनको सर्वाधिक जोखिममा रहेका राष्ट्रमध्ये चौथोमा पर्ने नेपालमा बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने पनि उल्लेख्य संख्यामा छन्। यसबाहेक आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइँसराइका लागि प्रेरित गरेको खतिवडाको भनाइ छ। ‘यस्तो बसाइँसराइलाई परिवारले सकारात्मकरूपमा लिने गरेको छ,’ उनले भने।  बसाइँसराइ गर्नेका परिवारबीच एउटा सम्पर्क सञ्जाल बन्ने र त्यस सञ्जालमार्फत एक गाउँका मनिस स्वदेश वा विदेशका एकै ठाउँमा बसाइँबसाइ सर्ने प्रवृत्ति पनि देखिएको डा. खतिवडाले बताए। भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्ने नेपाली मजदुर त्यस्तै सञ्चालमा आधारित समूह बनाएर बसाइँसराइ गरेको पाइएको उनले जानकारी दिए।

-रासस

प्रकाशित: ६ पुष २०८० १५:५९ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast