फाइल तस्बिर
काठमाडौँ- अलैँचीको निर्यात यसपटक बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनदेखि मंसिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपैयाँ बराबरको २३ लाख ७४ हजार ११० किलो अलैँची आयात भएको हो छ।
गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपैयाँ बराबरको ११ लाख ३४ हजार १२७ किलो निर्यात भएको छ। गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपैयाँले अलैँची निर्यातमा वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उल्लेख्य वृद्धि भएको हो। व्यापारविज्ञ रविशंकर सैँजूले स्वदेशमा उत्पादित अलैँची अन्य देशको भन्दा उच्च गुणस्तरको भएकाले पनि निर्यात बढ्दै गएको जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च छ, नेपालमा प्याकेजिङ र ग्रेडिङ गरेर पठाउन सके वार्षिक १० अर्ब रुपैयाँको निर्यात गर्न सकिने उनको छ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ। नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ विशेष पहल गर्नुपर्ने उनको भनाइ छ।
सबैभन्दा धेरै भारतमा अलैँची निर्यात हुने गरेको छ। मुलुकमा उत्पादित अलैँची छिमेकी मुलुक भारतमा ठूलो परिणाममा निर्यात हुने गरेको छ। भारतबाट व्यवसायीले अन्य देशमा समेत अलैँची निर्यात गर्ने गरेका छन् ।
विभागको तथ्यांक अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँ बराबरको ९९ लाख ४६ हजार २६२ किलो अलैँची निर्यात भएको हो। आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्यांकले देखाएको छ।



