प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा

हिमाल प्रेस ७ पुष २०८० १६:२५ | Saturday, December 23, 2023
प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने  सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा विश्वप्रकाश शर्मा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानुन यथाशीघ्र नल्याइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै महामन्त्री शर्माले प्रदेश कानुन तत्काल ल्याउन सरकारसँग माग गरे।

शर्माले सम्मेलनमा कानुन अभावको गुनासो सुनिएको भन्दै कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानुन नल्याइए सिंहदरबार घेर्ने चेतावनी दिए।

‘प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ,’ महामन्त्री शर्माले भने।

उनले प्रदेशलाई बलियो बनाएमात्रै संघीयता बलियो हुने धारणा राखे।

सम्मेलनमा कांग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको र तत्काल संसद् अधिवेशन बस्न नसके अध्यादेशबाट भए पनि कानुन ल्याउने बताए।

प्रकाशित: ७ पुष २०८० १६:२५ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast