पोखरा र भैरहवा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान नभए पर्यटन व्यवसायीले आन्दोलन गर्ने

हिमाल प्रेस १ पुष २०८० ६:४२ | Sunday, December 17, 2023
पोखरा र भैरहवा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान नभए पर्यटन व्यवसायीले आन्दोलन गर्ने

पोखरा- पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। तत्काल अन्तर्राष्ट्रिय उडान नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने बताए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए। उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए।

प्रकाशित: १ पुष २०८० ६:४२ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast