पाथीभरालाई एक करोड १५ लाखको सुन

हिमाल प्रेस २ पुष २०८० १६:१९ | Monday, December 18, 2023
पाथीभरालाई एक करोड १५ लाखको सुन

ताप्लेजुङ- प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ। पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए।

यो सुन आजको बजार मूल्यअनुसार एक करोड १५ लाख ४४ हजार चार सय रुपैयाँ हुन्छ। उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन। यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। चाँदीसमेत रिफाइन गरिएको छैन।

गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो। उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ।

दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन। यसपटक सङ्कलित सुन रिफाइनपछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।

यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ। मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए। अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ।

प्रकाशित: २ पुष २०८० १६:१९ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast