जैविक विविधतासम्बन्धी फिल्म फेस्टिभल हुँदै

हिमाल प्रेस २८ मंसिर २०८० २१:२३
जैविक विविधतासम्बन्धी फिल्म फेस्टिभल हुँदै

काठमाडौँ- नेपालमा पहिलोपटक जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनसम्बन्धी तीनदिने फिल्म फेस्टिभल हुने भएको छ। फेस्टिभल शुक्रबारदेखि सुरू हुनेछ।

तीनदिनसम्म चल्ने फेस्टिभल भारतीय संस्था सीएमएस वातावरणले आयोजना गरेको हो। फेस्टिभलको उदघाटन अपराह्न ४ बजे भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ।

उद्घाटन समारोहमा गुन्जन मेनन निर्देशित फिल्म द फायरफक्स देखाइने आयोजकले जनाएको छ। यो फिल्म रेड पान्डासँग सम्बन्धित छ।

आयोजकका अनुसार फेस्टिभल वन्यजन्तु, जैविक विविधता र वातावरणका सामाजिक एवं आर्थिक पाटोका विभिन्न पक्ष केन्द्रित रहनेछ।

फेस्टिभलमा नेपालसहित भारत, फ्रान्स, क्यानडा, बेल्जियम, जर्मनलगायत देशका जलवायु परिवर्तन, वन संरक्षण, दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रियरूपमा पुरस्कृत भएका एक दर्जनभन्दा बढी फिल्म देखाइनेछ। जसमा नेपालबाट श्याम कार्की निर्देशित वाइल्डफायर, अस्मिता शिरीष निर्देशित शेफर्ड अफ नारलगायत अन्य पनि छन्।

साथै फेस्टिभलमा फिल्म सम्बन्धी कार्यशाला, तालिम कार्यक्रम, प्यानल छलफलहरू पनि हुने सीएमएस वातावरणका उपनिर्देशक सब्यसाची भारतीले जानकारी दिए। पर्यटनबोर्डसहित खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पनि फेस्टिभलको एक कार्यक्रम आयोजना गरिएको छ। जसमा ‘सामाजिक प्रभाव फिल्म निर्माण कार्यशाला’ विषयक अन्तरक्रिया हुनेछ।

भारतीय फिल्म निर्माता राकेश राव लगायतका नेपाली चलचित्रकर्मी, संरक्षणकर्मी र अन्य सरोकारवाला सहभागी हुनेछन्। साथै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, नेपालका लागि क्यानेडेली राजदूत क्यामरुन म्याके, वन मन्त्रालयका सचिव डा. दीपककुमार खराल, आइयूसीएनका क्षेत्रीय प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: २८ मंसिर २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast