जापानले बनाएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण

हिमाल प्रेस ३ पुष २०८० १६:४३ | Tuesday, December 19, 2023
जापानले बनाएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण

काठमाडौँ– जापान सरकारको सहयोगमा प्युठानमा निर्माण भएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले मंगलबार नवनिर्मित केन्द्र प्युठान नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

जापान सरकारको आर्थिक सहयोगमा स्वयम्सेवक नेपाल राष्ट्रिय समूह –भीओआई नेपाल)ले उक्त केन्द्र निर्माण गरेको हो। निर्माणका लागि जापानले ८१ हजार १८० डलर करिब १ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

यो केन्द्रमार्फत प्युठान आसपास उत्पादन भएको बेसार प्रशोधन र प्याकिङ हुनेछ। प्युठान नगरपालिका क्षेत्र बेसार उत्पादनका लागि उपयुक्त मानिन्छ। तर किसानले परम्परागत खेतीपाती बढी गर्ने गरेका छन्। उत्पादनमा नयाँ बिउ तथा प्रविधिको प्रयोग नगर्दा बेसार पनि तुलनात्मक रूपमा कम उत्पादन हुँदै आएको थियो।

बेसार प्रशोधन केन्द्रले प्युठानका किसानलाई उत्पादन तथा बजारीकरणमा पनि सघाउने भएको छ। केन्द्र हस्तान्तरण गर्दै राजदूत युताकाले भने, ‘यसले किसानको आर्थिक उपार्जनमा ठूलो भूमिका खेल्ने हाम्रो विश्वास छ। जापान सरकार नेपाल र नेपालीको आर्थिक पाटोलाई बलियो बनाउन यस्ता परियोजनालाई अझ प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित: ३ पुष २०८० १६:४३ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast