 
                             
                                            लुम्बिनी- जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु मंगलबारदेखि सुरु भएको छ। पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको उपस्थितिमा लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा तीनदिने प्रशिक्षण सुरु भएको हो।
नेपालको वर्तमान राजनीतिक परिस्थिति, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद एवं सैद्धान्तिक र वैचारिक अवधारणाहरूमा पार्टीका नेताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रशिक्षण राखिएको उक्त पार्टीले जनाएको छ।
पहिलो दिन पार्टी अध्यक्ष उपेन्द्र यादवले विशेष प्रशिक्षण दिँदै राजनीतिक र सैद्धान्तिकरूपमा जनता समाजवादी पार्टी ठीक ठाउँमा रहेकाले नेताहरूले जनता जागृत गराउने अभियानमा लाग्नुपर्ने बताए। उनले संघीयता र सुशासनका विषयमा प्रशिक्षण दिँदै संघीयताले उत्पीडित वर्ग समुदाय र क्षेत्रलाई जोड्ने काम गरेको बताए।
यादव सहित शीर्ष नेताहरू उपस्थित रहेको प्रशिक्षणमा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा.पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथु, पार्टीका नेता मनिकर कार्की लगायतले प्रशिक्षण दिनेछन्। लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रनिनिधि गरी १ सय जना भन्दा बढी प्रशिक्षणमा सहभागी भएको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।
समाजवादी अर्थव्यवस्था र वित्तीय संघीयता , नेपालको विभिन्न राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन , जसपा, नेपालको विधान, संगठनात्मक कार्यपद्धति र संगठन विस्तार अभियान र नेपालको मधेश जनविद्रोह/आन्दोलन, आदिवासी, जनजाति आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, लैंगिक समानता र अधिकारको आन्दोलन लगायतका आन्दोलनहरू र राष्ट्रिय/जातीय मुक्तिको सवालका बारेमा नेताहरूलाई प्रशिक्षण गराइने केन्द्रीय सदस्य मनिकर कार्कीले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 