चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

हिमाल प्रेस १२ पुष २०८० १०:५२ | Thursday, December 28, 2023
चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर चेपाङ गाउँ

नवलपरासी- चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन्। उनीहरू दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ। स्थानीय शान्ति मुसहरले भने, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ।’

ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल। ‘घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन’, उनले भने, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन्।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगे। अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताए। ‘पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन’, उनले भने, ‘मजदूरी गर्न काम पाइएको छैन, कति दिन भई सक्यो एक छाक खान्छौँ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए। उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ। ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ।’

प्रकाशित: १२ पुष २०८० १०:५२ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast