पोखरा- मधेश प्रदेशले प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मधेशले पहिलो पल्ट राष्ट्रियस्तरको प्रतियोगिता जित्न सफल भएको हो। पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार फाइनलमा राष्ट्रिय खेलाडीले सुसज्जित विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन बनेको हो।
१३६ रनको विजयी लक्ष्य पाएको आर्मी पूरै २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमात्र बनाउन सकेको हो। जितका लागि अन्तिम ३ बलमा आवश्यक १३ रनमा आर्मीका सोमपाल कामीले १ रनमात्र जोड्न सके। कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन जोड्दा विवेक यादव अविजित रहँदै २५ रन बनाएका थिए।
कप्तान विनोद र सन्तोष कार्कीले सुरुवातमा राम्रो लय लिए। उनीहरुले ४ ओभरमा ३२ रनको साझेदारी खेले। प्रदीप पासवानको बलमा सन्तोषलाई एलबीडब्लू धरापमा परे भने रोहित पौडेलले मात्र ५ रन बनाउँदै आउट भए। मधेशका लागि कप्तान हरिशंकर शाहले ४ विकेट लिए। उनले मात्र १९ रन खर्चेर ४ विकेट लिएका हुन्। प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने पर्थिक यादवले १ विकेट लिए।
मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा भएको फाइनलमा टस जितेर मधेशले थालेको आक्रामक ब्याटिङमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। सातौं नम्बरमा ब्याटिङ गरेमा विशाल पटेलले ३२ बल खेल्दै समान ३ चौका र ३ छक्का नटआउट ४९ रन बनाए।
मधेसका विशाल पटेल सर्वाधिक ४९ रन बनाउँदै अविजित रहे। ३२ बलको सामना गरेका उनले ३ चौका, ३ छक्का प्रहार गरे। टिम कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इमरान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४ र मायन यादवले ३ रन बनाएका थिए।
आर्मीका साहव आलमले ३ ओभरमा ५ रन खर्चिदै ३ विकेट लिए। विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएक भने सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए। गत ७ मंसिरदेखि सुरु प्रतियोगितामा विभागीय ३ सहित १२ टिमले भाग लिएका थिए।


                                             
                                             
                                             
                                             
                                             
                                             

