 बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै 
सभापति शेरबहादुर देउवा। तस्बिर : हिमाल प्रेस
                             बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै 
सभापति शेरबहादुर देउवा। तस्बिर : हिमाल प्रेस
                                            लुम्बिनी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गरेका हुन्।
उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए। ‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे।
‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, देउवाले भने। निकै संक्षिप्त बोलेका सभापति देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सबालको जबाफ दिएनन्। धेरै नेताहरूले भाषण गरेको र साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटकपटक छोटो बोल्न भनेका थिए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै मन्तव्य सकाए। देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए।
यसअघि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा राजनीतिको भ्याक्सिन दिने डाक्टर आवश्यक रहेको बताए। नेता भण्डारीले राजनीतिक नेताहरू सुध्रन जरुरी रहेको बताएका हुन्।
उनले दैनिक रूपमा हजारौँ युवा विदेश पलायन भइरहेको सन्दर्भ उल्लेख गर्दै नेतृत्वले यतातर्फ ध्यान दिनुपर्ने बताए। ‘एक पटक मन्त्री, २-२ पटक सभामुख भएका सुवास नेम्बाङको मृत्यु हुँदा छोराहरू विदेश भएका कारण तीन दिन लास राख्नुपर्यो’, नेता भण्डारीले भने, ‘कहिलेसम्म छोराछोरीहरू आउँदासम्म लास राख्ने, यस विषयमा सोच्नुपर्दैन?’ उनले विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको र त्यसैको असर सरकारमा हुँदा पनि केही गर्न नसकेको बताए।

नेता भण्डारीले पार्टी सभापतित देउवा अब अन्तिमपटक सभापति भएको स्मरण गर्दै पार्टीभित्र गुटकै कारण समस्या निम्तिएको बताए। ‘आज गुल्मी, अर्घाखाँचीमा हजारौँ कार्यकर्ता सम्मेलनमा छन्। बुटवलमा पनि हजारौँ सहभागी छन्। हामी चुनाव किन हार्यौँ?’ उनले भने। कार्यक्रममा केन्द्रीय सदस्य पुष्पा भुसाल, दीपक गिरी, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीलगायतले बोल्दै कांग्रेसको शक्ति एकत्रित गर्न सुझाव दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 