किन देखाइन्छ पशुपतिमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख?

हिमाल प्रेस २६ मंसिर २०८० ६:०३ | Tuesday, December 12, 2023
किन देखाइन्छ पशुपतिमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख?

काठमाडौँ- पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ।

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो। आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षित साथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ।

आज बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ। भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ।

आज बिहान साढे ९ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख देखाउने तयारी गरिएको हो। पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ। रासस

प्रकाशित: २६ मंसिर २०८० ६:०३ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast