कारागारबाट छुटे बालकृष्ण खाण

हिमाल प्रेस २९ मंसिर २०८० १४:०८ | Friday, December 15, 2023
कारागारबाट छुटे बालकृष्ण खाण जिल्ला अदालतबाट बाहिरिँदै खाण।

काठमाडौँ– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण केन्द्रीय कारागारबाट छुटेका छन्। आज (शुक्रबार) कारागारबाट छुटेका खाण जिल्ला अदालत काठमाडौँ पुगेका थिए।

काठमाडौँ जिल्ला अदालतबाट खाणलाई सिधै सम्पत्ति शुद्धीकरण विभाग लगिनेछ। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्‍याइने छ। अख्तियारबाट पनि छुटेपछि बल्ल उनी तारेखमा हुनेछन्।

हिजो (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले जिल्ला अदालतमा आदेशको मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाइसकेका छन्।

मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई थुनामै राख्ने कि छोड्ने भन्ने विषयमा राय बाझिएको थियो। न्यायाधीशबीच राय बाझिएपछि अर्को आदेश कोइरालाको इजलासले दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य केही व्यक्ति पनि धरौटी रकम बुझाएर थुनामुक्त भइसकेका छन्। १५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने थुनामै छन्।

हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनीहरू धरौटी बुझाएर छुटिसकेका छन्।

उच्चले लक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको थियो। बिहीबार आदेश अबेरमात्रै आएकाले खाण छुट्ने प्रक्रियाहरू आज गरिएको हो।

प्रकाशित: २९ मंसिर २०८० १४:०८ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast