हेटौँडा- बागमती प्रदेश युवा परिषद्को आयोजनामा आवशीय महिला आत्मारक्षा प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ।
तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्मजागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ। प्रदेशभित्रका २६ विद्या लयका २६ जना शिक्षक सहभागी यस कार्यक्रममा किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिपोर्टको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम संचालन गरिदै आएको छ।
पुस १३ देखि १५ गते सम्म हुने तालीम कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एव पूर्व श्रम, यातायात तथा रोजगार मन्त्री एकलाल श्रेष्ठले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारीरिक हिसाबले तयार रहनका लागि तालिम महत्त्वपूर्ण हुने र विद्यालयको कोर्सको रुपमा बिकास गर्न आवश्यक पहल गर्ने बताउनु भयो।
बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले अघिल्लो वर्ष प्रदेश भित्रका १३ जिल्लामा सञ्चालित यस कार्यक्रम महत्वपूर्ण र प्रभावकारी परिणाम प्राप्त हुदा आत्मारक्षा तालिमलाई निरन्तरता दिदै आएको र तालिमपछि कम्तिमा विद्यालय र स्थानीय तहमा २० हजार बढीलाई तालिम दिन सक्षम प्रशिक्षक तयार हुने बताए।
सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख खुबीराम अधिकारीले मन्त्रालयले तालीमको उपलब्धि राम्रो भएकोले कार्यक्रमलाई निरन्तरता दिदै आएको र थप कार्यक्रमको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताए।
तालिमका प्रशिक्षक दिपेन्द्र रोक्काले सबै उमेर समूहका सबैलाई तालिम आवश्यक रहेको र सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चल्ने भएकाले सिक्ने र सिकाउने कलाको विकास गर्न जरुरी रहेको बताए।
गैरसरकारी सस्था महासंघ जिल्ला अध्यक्ष रमिला सापकोटा महिला हिंसाको विरुद्ध महिलालाई तालीम दिई कार्य क्षेत्रमा पठाउदा थप प्रभावकारी हुने भएकाले प्रदेश युवा परिषदलाई धन्यवाद व्यक्त गरे।
प्रदे्श युवा परिषदका कार्यालय प्रमुख सारदा मैनालीले सन्चालक गरेको कार्यक्रम बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्ष भएको कार्यक्रममा नेपाल सेल्फडिफेन्स एसोसिएसनका वरिष्ठ प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विनिता गुरुङ, मेनका श्रेष्ठको सहभागिता थियो।





