नेपाली कामदार प्रहरीबाटै लुटिन्छन् मलेसियामा

रमेश भारती २३ कार्तिक २०८० १२:१७
160
SHARES
नेपाली कामदार प्रहरीबाटै लुटिन्छन् मलेसियामा मलेसियास्थित नेपाली दूतावासले आयोजना गरेको कन्सुलर सेवा तथा अन्तरक्रियामा सहभागी नेपाली कामदार। तस्बिर साभार : नेपाली दूतावास, मलेसिया

काठमाडौँ- इलाम चुलाचुली गाउँपालिकाका धर्म लिम्बू दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए। म्यानपावरसँग भएको करार सम्झौताअनुसार कम्पनीले तलब र सुविधा नदिएपछि उनी कम्पनी छाडेर भागे। मलेसियामा अवैध भएर (लुकेर) काम गर्दा धेरै पैसा पाइने भएपछि कामदारहरू कम्पनी छाडेर भाग्ने गर्छन्। यसरी भाग्नु मलेसियाको कानुनविपरीत हो।

लिम्बूले पनि नयाँ कम्पनीमा लुकेर काम गर्न थालेपछि धेरै आम्दानी गर्न थाले। ‘एक वर्षसम्म तलब नबढेपछि कम्पनीबाट भागेर अर्को कम्पनीमा पुगेँ। नयाँमा काम थालेपछि मासिक एक हजार सात सय रिग्रेंट (करिब ४८ हजार रुपैयाँ) कमाइ हुन थाल्यो’, लिम्बूले टेलिफोनमा भने। यसरी काम गर्दा भने कामदारलाई बाहिर हिँड्डुल गर्न सजिलो हुँदैन। कुनै बेला पनि प्रहरीले पक्राउ गर्न सक्छ।

लिम्बूले भने, ‘नेपालबाट नौ सय रिग्रेंट पाइने सम्झौता गरी आएको थिएँ। अहिले लुकेर काम गर्दा त्यसको दोब्बर कमाइ भइरहेको छ।’ उनलाई कम्पनीले ८ घण्टा काम गरेको तलबसहित ओभरटाइमको पैसा समयमै दिन्छ। पहिलाको कम्पनीमा उनी १२ घण्टा काममा खटिन्थे। रोजगारीमा कार्यरत कम्पनीले तलबबाहेकका अन्य सुविधा नदिएपछि त्यसलाई छाडिदिएको उनले बताए। सुरुमा रबर कम्पनीमा काम गरेका उनी अहिले बंगुर फार्ममा कार्यरत छन्।

लिम्बूजस्तै, चितवनका रवि काफ्ले पनि मलेसिया रोजगारीमा पुगेको एक वर्षपछि कम्पनी छाडेर भागे। हाल उनी उखु संकलन केन्द्रमा लुकेर काम गरिरहेका छन्। नेपालमा म्यानपावर कम्पनीले भनेजस्तो तलब र सेवासुविधा नपाएका कारण कम्पनी छाडेर भाग्न बाध्य भएको काफ्लेले बताए।

‘मलेसिया रोजगारीमा आएका धेरै नेपाली कम्पनी छाडेर भाग्दा रहेछन्। हामीभन्दा पहिला आएका साथीहरूको सहयोगमा कम्पनी छाडेर भागेपछि मासिक दुई हजार पाँच सय रिग्रेंंट (करिब ७० हजार रुपैयाँ) कमाउन थालेको छु। म अहिले उखु संकलन केन्द्रमा कार्यरत छु’, उनले भने। म्यानपावरलाई तीन लाख रुपैयाँ लागत खर्च तिरेर आएका उनले सात महिनामा पनि ऋण तिर्ने सकेनन्। उनी पनि म्यानपावर कम्पनीले मलेसिया आउँदा एउटा काम भनेर अर्केमा पठाएपछि भाग्नुपरेको गुनासो गर्छन्।

पोखराका विश्वनाथ सार्की पनि मलेसियामा लुकेर काम गर्दै आएका छन्। लुकेर काम गरेकै कारण उनको साथमा कागजपत्र छैन। त्यसैले पाँच वर्षदेखि स्वदेश फर्किन नपाएको उनले बताए। मलेसिया अवैध भएर काम गर्दा मात्र बढी आम्दानी हुने गरेका कारण कम्पनी छाडेर भाग्नुपरेको उनले बताए।

‘मलेसिया आएको ६ वर्ष भयो। नेपालबाट आएको एक वर्षपछि कम्पनी छाडेर भागेँ। पहिला ४० हजार तलब थियो। अहिले नेपाली एक लाख रुपैयाँसम्म कमाइ हुन्छ’ , उनले भने। लुकेर बसेका कारण मलेसियन प्रहरीले उनको फोन र पैसा पटकपटक लुटेको छ। सार्कीले भने, ‘यो त यहाँको मुख्य समस्या हो। प्रहरीले लुट्न पाए छाडिदिन्छ । अवैध रूपमा बसेपछि प्रहरीबाट जोगिनुपर्छ।’

आफ्नो साथमा राहदानी नभएका कारण अवैध रूपमा काम गरिरहेकालाई नेपालमा पैसा पठाउन समस्या हुने गरेको छ।

कम्पनी छाडेर भागेको सूचना आउँछ : दूतावास

मलेसियास्थित नेपाली दूतावासले मलेसियामा म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला र पुरुषले कम्पनी छोडेर भाग्ने गरेको जनाएको छ। यसरी भाग्दा उनीहरू मात्रै होइन दूतावासका अधिकारीहरू पनि समस्यामा पर्ने गरेका छन्।

मलेसियामा पुरुष कामदार सेक्युरिटी, होटल तथा सर्भिस, म्यानुफ्याक्चरिङ, प्लान्टेसनको काममा जाने गरेका छन्। महिला कामदार बढी मात्रामा म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा संलग्न रहेको दूतावासले जनाएको छ। यसरी आएका कामदारलाई तलबमा चित्त नबुझेपछि कम्पनी छाडेर भाग्ने गरेको दूतावासका अधिकारीहरू बताउँछन्। ।

उनीहरूका अनुसार म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला कामदारले कम्पनी छोडेको सूचना आउने गरेको छ। यस विषयमा दूतावासले सामाजिक सञ्जाल र अन्य प्रविधिमार्फत जानकारी गराउँदै आएको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाले जानकारी दिए। व्यक्तिगत बुझाइभन्दा पनि अन्यत्र राम्रो पैसा कमाउने लोभका लागि झुटो आश्वासन दिने गिरोह र बिचौलियाको भरमा परेर रोजगारदाताले कम्पनी छाडेर भाग्ने क्रम बढेको उनले बताए।

‘मलेसिया म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा आएका कतिपय महिला कामदार घरेलु काम पर्ने गरेका कारण पनि मलेसियामा कार्यरत नेपाली कामदारकै सहयोगमा कम्पनी छाडेर भाग्ने गरेको सूचना कम्पनीले दिने गरेका छन्’, उनले भने। मलेसियामा कम्पनी छोडेर अवैधानिक अवस्थामा रोजगारीमा रहेकालाई त्यहाँको प्रहरीले लुटपाट गर्ने गरेको दूतावासमा सूचना आए पनि प्रमाण नहुँदा सम्बन्धित निकायसँग छलफल गर्न समस्या हुने गरेको उनले बताए।

६ महिना प्रतिबन्ध

मलेसियामा भागेर अवैध रूपमा बस्ने कामदारलाई पुनः मलेसिया प्रवेशका लागि कम्तीमा ६ महिना प्रतिबन्ध लगाउने कानुनी व्यवस्था छ। हाल मलेसिया ८० देखि ९० हजारको संख्यामा नेपाली कामदार अवैध रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ। जसमा धेरै श्रम अवधि सकिएका र कम्पनी छाडेर भागेको कामदार छन्।

मलेसिया सरकारले अवैध कामदारलाई जरिवाना छुट दिएर स्वदेश फिर्ता गराउने कार्यक्रम ‘बंकुस’ खुला गर्ने गरेको छ। मलेसियामा अवैधानिक रूपमा बसेर काम गदै आएको कतिपय नेपाली स्वदेश फर्किनका लागि सोही कार्यक्रमको प्रर्खाइमा छन्।

अवैध रूपमा बसेर रोजगारीमा कार्यरत नेपाली कामदारलाई वैधानिक बनाउन सरकारले चालु आर्थिक वर्षदेखि विदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ। तर मलेसियाबाट नेपालीले पुनः श्रम स्वीकृति लिन चासो नदेखाएको विभागका अधिकारीहरू बताउँछन्। कानुनी फन्दामा पर्ने डरले धेरै वैदेशिक रोजगारीमा कार्यरत कामदारले यस्तो सुविधा लिन चासो नदेखाएका हुन्।  मलेसियामा साढे पाँच लाख नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

प्रकाशित: २३ कार्तिक २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =