चिसो बढेपछि बेँसी सारिँदै गोठ

हिमाल प्रेस २२ कार्तिक २०८० ११:०७
10
SHARES
चिसो बढेपछि बेँसी सारिँदै गोठ

मनाङ- हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्।

मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्यांग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए। हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए।

मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्यांग्रापालन गर्दैआएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए।

व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए। गुरुङले भने, ‘गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन।’

गत वर्ष हिमपहिरोमा परी दुई सय ५० भन्दा बढी भेडाच्यांग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ।’

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए। उनले भने, ‘पहिले चौँरी र भेडाच्यांग्रा धेरै थिए। तर पाल्ने क्रम कम भएको छ। चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ।’

अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाए। ‘केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ। कहिले त कति बेला खायो नै थाहा हुँदैन। राहतका लागि झन्झट छ। राहतको पाँच–दश हजार रुपैयाँ लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार रुपैयाँ खर्च हुने गरेको उनको गुनासो छ।

गुरुङले भने, ‘पहिलेको जस्तो घाँस हुँदैन। घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ। न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो।’

मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्यांग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए। यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ।

गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्यांग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन्। चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्यांग्रा र चौरीको गोठ राखिनेछन्।

प्रकाशित: २२ कार्तिक २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast