इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन्।
सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबीच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताएका हुन्।
विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बूढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्षसहित स्वीस सरकारका प्रतिनिधिहरूसँग छलफलका क्रममा उनले उक्त कुरा बताएका हुन्। स्वीस सरकारको सहयोगमा केशलिया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव भइरहेको छ।
मुख्यमन्त्री कार्कीले केशलिया नदीको एकीकृत विकासले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृषिमा समेत टेवा पुर्याउने भन्दै यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य जरुरी रहेको बताए। उनले नदी मानव जीवनसँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षणसँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभसमेत लिन सकिने बताए।
छलफल कार्यक्रममा स्वीस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीबारे जानकारी गराए। उनले केशलिया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमा विश्वास व्यक्त गरे।
विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छोएर केशलिया नदी दक्षिण तर्फ बगेको छ भने बूढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छोएर नदी बग्छ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय लगायतका पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको सहभागिता थियो।