दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि ओलीको दबाब

रमेश भारती १९ कार्तिक २०८० १७:११
268
SHARES
दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि ओलीको दबाब

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब दिएका छन्। यसका लागि ओलीले संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्‍याउने विषयलाई ‘बार्गेनिङ’ गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

ओलीले अघिल्लो शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तामा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्त्वलाई सहयोग गरेको र राजावादीहरूको मनोबल बढ्न थालेको भन्दै उनलाई पक्राउ गर्न आग्रह गरेको स्रोतको भनाइ छ। ‘ओलीले प्रधानमन्त्रीसँग प्रसाईलाई पक्राउ गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) मा सहयोग गर्ने आश्वासन दिनुभएको छ’, स्रोतले भन्यो।

स्रोतले भन्यो, ‘ओली र प्रसाईबीच के भइरहेको छ? यसबारे प्रस्ट खुलेको छैन। तर ओलीले प्रसाईलाई पक्राउ गर्नचाहिँ प्रधानमन्त्रीमाथि दबाब दिँदै आएका छन्।’ प्रसाईले पछिल्लो समय राजसंस्था, बैंक तथा वित्तीय संस्थाका बारेमा बोल्दै हिँड्ने गरेको र यसको प्रभाव राजनीति र व्यवस्थामै पर्न थालेको भनाइ ओलीको रहँदै आएको छ। तर ओली किन प्रसाईमाथि खनिँदै आएका छन् भन्ने विषयचाहिँ प्रस्ट छैन।

ओलीले प्रधानमन्त्री प्रचण्डसँग भएको पछिल्लो हरेक भेटमा प्रसाईलाई पक्राउ गर्ने विषय उठाउँदै आएको स्रोतको दाबी छ। ओलीले प्रधानमन्त्रीलाई मात्र होइन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि अप्रत्यक्ष रूपमा प्रसाईलाई पक्राउ गर्न दबाब दिइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ओलीले एमाले नेता महेश बस्नेतलाई गृहमन्त्रीलाई गता साता भेट्न पठाएरै प्रसाईलाई पक्राउ गर्न सन्देश दिएको ती कर्मचारीले बताए। तर गृहमन्त्रीले त्यसलाई गम्भीर रूपमा लिएका छैनन्।

ओलीको कुरा गृहमन्त्रीले नसुनेपछि एमालेले प्रसाईविरुद्ध प्रहरीको साइबर ब्युरो प्रहरीमा उजुरी दिएको छ। प्रसाईले आइतबार साइबर ब्युरोमा एमालेले दिएको उजुरीबारे बयान दिएका छन्। उनले भने, ‘एमालेले उजुरी दिएको रहेछ। मलाई ब्युरोबाट बोलावट भएको थियो। बयान दिएर आएको छु।’

प्रसाईले दसैँअघि एउटा सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले कम्बोडियामा ८ सय करोड नेपाली पैसा लगानी गरेको सूचना आफूसँग भएको दाबी गरेका थिए। त्यति मात्र होइन प्रसाईले गत भदौमा ओलीलाई मारवाडी, सुन तस्करी, बैंकबाट पैसा लिएर युवा संघमार्फत ब्याजमा लगाउने र गुन्डागर्दीलाई संरक्षण गर्ने नेता भनेर आरोप लगाएका थिए।

प्रसाईको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बन्दै गएका छन्। प्रसाईंले भने, ‘कम्बोडियाको टेलिकममा लगानी भएको र त्यसको प्रमाण मसँग भएको दाबी गरेपछि ओलीले गत साता पोखरामा आयोजित एक कार्यक्रममा खण्डनसमेत गर्न भ्याए।’

ओलीले असोजयता युवा संघमार्फत प्रसाईका कार्यक्रममाथि अवरोधसमेत गर्न लगाउँदै आएको प्रसाई समर्थकको आरोप छ। प्रसाईले एमाले अध्यक्ष ओलीले भ्रष्टाचार गरेको पैसा विदेशमा लगानी गरेको सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएपछि ओली र प्रसाईबीच सम्बन्ध बिग्रिएको थियो। त्यसपछि एमालेको केन्द्रीय सदस्य त्याग गरेर राष्ट्रवादी महाअभियान थालेका प्रसाईका गतिविधिमाथि नियन्त्रण गर्न थालेको थियो। पार्टीबाट नसकिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रसाईलाई नियन्त्रणमा लिन सरकारको साथ मागेको हो।

एमाले नेतृत्वले भने प्रसाईलाई पक्राउ गर्न पार्टीबाट दबाब दिएको विषयमा अनभिज्ञता प्रकट गरेको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रसाईका बारेमा आफूलाई थाहा नभएको र अध्यक्ष ओलीसँग प्रसाईलाई जोडेर पार्टीको नकारात्मक हल्ला फैलाउन काम भइरहेको बताउँछन्। एमालेको मध्यपहाडी अभियानमार्फत इलाममा रहेका उपमहासचिव ज्ञवालीले भने, ‘प्रसाईलाई पक्राउ गर्ने दबाब दिएको विषयमा मलाई केही जानकारी छैन। यो त पार्टी अध्यक्षका विषयमा भ्रम फैलाउने योजना मात्र हो।’

यता प्रसाईले भने एमालेका अध्यक्ष ओली आफूलाई पक्राउ गर्न प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीमा दबाब सिर्जना गरिरहेको आरोप लगाएका छन्। आफूले चलाएको राष्ट्रवादी आन्दोलन रोक्न एमाले अध्यक्ष ओलीले नेता मेहश बस्नेतमार्फत अवरोध खडा गरिरहेको उनले बताए।

देशमा आर्थिक मन्दीका कारण जनता भोकै बस्ने अवस्था सिर्जना भएपछि आफूले आन्दोलन गर्न लागेको प्रसाईले बताए। उनले भने, ‘देशमा हेपिएका जनताको ज्वालामुखी आउने थाहा पाएपछि एमाले डरायो। त्यही भएर युवा संघलाई उचालेर सर्वसाधारण नारिकको अधिकार खोस्न अध्यक्ष ओली लागेका छन्।’

राष्ट्रवादी आन्दोलन गर्न लागेको र आफनो आन्दोलन एमाले तगारो बन्न खोजे पनि जनताले बुझिसकेको प्रसाईको दाबी छ।

ओली र प्रसाईको एकै दिन काठमाडौँमा कार्यक्रम

प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। पहिलो दिनको कार्यक्रममा प्रसाईले नै सम्बोधन गर्दैछन्। प्रसाईले आन्दोलन घोषणा गरेर सार्वजनिक गरेको दुई दिनपछि युवा संघले पनि माइतीघर मण्डलमा कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको। उक्त कार्यक्रममा एमालेका अध्यक्ष ओली सम्बोधन गर्ने युवा संघले जनाएको छ।

युवा संघलाई एमाले नेता महेश बस्नेतले प्रसाईको कार्यक्रम बिथोल्न निर्देशन दिएको एउटा भिडियो क्लिप सार्वजनिक भएको छ। बस्नेतले आङकाजी शेर्पा र प्रसाईको कार्यक्रम बिथोल्ने, आइपरे भिड्ने र २० हजार युवा कार्यक्रममा सहभागी हुनुपर्ने बताएका छन्। पछिल्लो समय युवा संघका कर्ताकर्ता र प्रसाईका समर्थकबीच झडप समेत देशका विभिन्न स्थानमा हुने गरेको छ ।

प्रसाईले घोषणा गरेको आन्दोलपछि सबैभन्दा बढी टाउको दुखाई एमालेका अध्यक्ष ओलीको भएको देखिन्छ। प्रसाईले भने, ‘राष्ट्रवादी आन्दोलन गर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक बन्द गर्नुपर्ने, हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, देशभित्र रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारी रोक्नुपर्ने र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था रोक्नुपर्ने लगायतका माग राखी देशव्यापी आन्दोलन गर्दै आएका छन्।

व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!

प्रकाशित: १९ कार्तिक २०८० १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =